सुर्तीजन्य पदार्थ तथा मदिरा नियमन तथा नियन्त्रण सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका हाकिमसाप आज कार्यक्रम समापनपश्चात् हतार हतार कार्यालय फर्कँदै थिए । “असार मसान्तको बेला के कार्यक्रम राखेको होला ? नगई पनि नहुने, आफ्नो कार्यालयको तनाव कति छ” यसै भुनभुनाउँदै थिए हाकिम साप । यत्तिकैमा गाडी रोकियो, बाटोमा खोला बढेर गाडी अगाडि लैजान जोखिम हुन्छ भन्दै प्रहरी जवानले जानकारी गराए । उता फोन माथि फोन आइरहेकाले हाकिमसापलाई, “हुन्छ म फाइल हेर्छु, के कसरी हुन्छ भुक्तानी गरौला नि !” भन्दै फोन राख्दै गर्नुपरेको थियो ।
“कत्ति हैरान पारेका मान्छेहरूले पनि” मोबाइल स्विच अफ गरेर गोजीमा राख्दै गरेका हाकिमसाप गोजीबाट एउटा सानो रातो प्याकेट निकालेर, दाँतले खोल्दै ठाडो घाँटी पारेर पुरै प्याकेट मुखमा खन्याउँदै बोल्न थाले, “यो अफिसको तनावले उमेरअघि नै लैजान्छ कि क्या हो ?” ड्राइभर चुपचाप हाकिमसापको कुरा सुनिरह्यो ।

