“बाबा, एक करोड भनेको कति हो ?” आठ वर्षकी छोरीले तिलकलाई जिज्ञासावश प्रश्न गरिन् ।
भेट्टाएको एक करोड रूपियाँ सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्ने प्रसङ्गमा सोधिएको प्रश्न थियो त्यो । समाचार युट्युबमा अपलोड हुनासाथ केही मिनेटमै हेडलाइन मात्र बनेन, देश—विदेशमा समेत भाइरल बनेको थियो । लाइक—कमेन्टको वर्षा भयो । पत्रपत्रिका, रेडियो र टेलिभिजनले राम्रै स्थान दिए । उनको इमान्दारिताको कदर गर्दै राष्ट्राध्याक्षले समेत टेलिफोनबाट धन्यवाद दिनसम्म भ्याएका थिए ।
केही दिनसम्म सोही विषयमा टोल–टोलमा प्रशंसा र कफी–गफको मसला बन्यो ।
आज छोरीले उठाएको प्रश्नले तिलकलाई सोच्न बाध्य बनायो—एक करोड रूपैयाँको तौल र आकार कति होला ? त्यति धेरै पैसा बोक्ने मान्छे टेम्पो चढ्ला कि नचढ्ला ? कान नछामी कागको पछि सारा सञ्चारकर्मी र आफू समेत दौडिएको सम्झेर ऊ लज्जित भयो ।
तिलकको जवाफ थियो—
“यो त धेरै पैसा हो नानी, एक धोक्रो हुन्छ, तिमीले त बोक्न पनि सक्दिनौ ।”

