साहित्यपोस्ट डट कम

लघुकथा: वैकल्पिक उम्मेदवार

लघुकथा: वैकल्पिक उम्मेदवार

“ड्याम्म…” रातको बेला एक्कासि पड्कियो ।

टोलछिमेक भय मिश्रित कौतुहलतासहित घर बाहिर निस्किए ।

“बचाओ, बचाओ ।” अलि परबाट आवाज आएको सुनियो ।

सबै त्यतैतिर दौडिए ।

ऊ सडकछेउ ढलेको थियो । भलभल रगत बग्दै थियो ।

एम्बुलेन्स बोलाएर हत्तपत्त अस्पताल पुर्‍याए ।

जाँचबुझपछि डाक्टरले उसलाई मृत घोषणा गरे ।

“कसरी भयो ? कसले गर्यो ? किन गर्यो ?” सबैको मुखबाट यस्तै प्रश्न जन्मन थाले ।

उत्तर कसैसँग थिएन ।

प्रहरीले घटनास्थल छेका हाल्यो । मुचुल्का तयार गर्यो ।

समाजमा एक किसिमको भयावह वातावरणको सृजना भयो ।

प्रहरीले सूक्ष्म अनुसन्धान थाल्यो । टोलमा प्रहरी उपस्थिति बाक्लियो । अनुसन्धानका लागि कुकुर समेत टोलमा घुमाइयो ।

कहीँ कतै सुराकी पत्ता लागेन ।

जनमानसमा आक्रोश बढ्न थाल्यो । पुलिस प्रशासनले अनुसन्धानमा ढिलाइ गरेको भन्दै नाराजुलुस निस्कियो ।

मिलेमतोमा हत्यारा लुकाएको भन्ने स्वर समेत सुनिन थाल्यो ।

यस्तैमा एकदिन प्रहरीले पत्रकार सम्मेलन गरि हत्यामा संलग्नलाई सार्वजनिक गर्यो ।

“सँगै लोकसेवाको परीक्षा दिएका साथीमध्ये उसको नाम निस्किएर कार्यरत थियो । उसको हत्या गरि नियुक्ति पाउने उद्देश्यले वैकल्पिक उम्मेदवारले गोली हानेर हत्या गरेको” भन्ने प्रहरीले खुलासा गर्यो ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.