साहित्यपोस्ट डट कम

लघुकथा: तीव्रता

लघुकथा: तीव्रता

गोपिलाल एक महिनादेखि बिरामी थिए । पहिले अलिअलि मात्रै दम बढेर आउँथ्यो, बिस्तारै आफैँ ठीक हुन्थ्यो । यसपाली भने व्यथा निकै बढ्यो । उनका दुई भाइ छोरा आत्तिए । हतार हतार गरेर बालाई अस्पतालसम्म पुर्याए । निकै दिन भयो, तर पनि उनलाई बिसेक भएन । अस्पतालले बिदा दियो । त्यसपछि घरमै राखियो उनलाई । उनका नातेदारहरू एक एक गर्दै मुख हेर्न आउँथे । सबैजना गहभरि आँसु लिएर जान्थे । आज रातिदेखि उनले आँखा हेर्न छाडेका छन् । त्यसैले पनि उनका छोराहरूको छटपटी बढेको थियो । पीरले, औडाहाले उनीहरू भोका न प्यासा भए ।

नातागोता र गाउँभरिका मान्छेले घरआँगन भरिएको थियो । दाजु भाइले आपसमा केही सल्लाह गरे । यत्तिकैमा उनको जेठो छोराले फोन गर्यो, “हेलो..वकिल साप, छिटो आउनु पर्यो । बुबाको सास गयो भने जग्गा जमिन सबै वृद्धाश्रमको नाममा जाने भयो । जसरी भए पनि आजै काम सक्नु पर्यो ।”

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.