साहित्यपोस्ट डट कम

लघुकथाः तल्लो बाटो

लघुकथाः तल्लो बाटो

कथाकारले पात्रलाई बिरालोले मुसालाईझैँ खेलायो र अन्तमा आत्महत्या गराउने मोडमा पुग्यो ।

काठमाडौँदेखि दिल्ली–रसिया–स्पेन–आइसल्याण्ड–सुरेनाम–ब्राजिल–कोलम्बिया सम्मको यात्रा सुखद नै रह्यो । पानामाको जंगलदेखि नर्कको बाटो शुरु भयो ।

वर्षातको याम । गर्मी, जङ्गल, खोला–नाला र हिँडाइले जाँघ–खुट्टा पाकेर कति थला परे कतिको त्यही जङ्गलमा मृत्यु भयो । चाउचाउ र बिस्कुटको भरमा धेरै दिन हिँड्न बाध्य बनायो । दुई-दुई पटक डाँकुबाट लुटायो । यतिसम्म कि पाइन्ट जुत्ता समेत लुटेर कट्टु र खाली खुट्टामा हिँडायो ।

राती–दिउँसो, जँगल–गोरेटो, खोला–नाला समुद्रको सवाल थिएन । मोटर बोटमा तीन सय प्रति घण्टाको दरले हुँइक्यायो । पलपलमा त्रासदी र अत्यास लाग्दो अवस्था भएर गुज्रियो । अब बाँच्नु यति नै रहेछ भनेर भएभरका देवीदेवता पुकार्नुपर्ने अवस्थासम्म पुग्यो ।

जब मेक्सिकोबाट बाह्र-तेह्र फिटको पर्खाल नाघेर अमेरिकी भुभागमा खुट्टा राख्यो, त्यसपछि अर्कै कथा– व्यथाको शुरुवात भयो ।

शिविर, जेल, पुनरावेदन गर्दै गर्दै क्यालिफोर्नियादेखि न्युयोर्कसम्म आइपुग्दा अठार महिना गुज्रिसकेको थियो । भोलिपल्ट कोरिया हुँदै काठमाण्डौँ पठाइने डिपोटको सूचना हातमा परिसकेको थियो ।

कथाकार यसै राती पात्रको आत्महत्या गराउने सोचमा थियो । सोच्दा–सोच्दै कथाको बिट नमारी निदायो ।

सपनामा कथाको पात्र अगाडि आएर भन्यो—

“कृपया मलाई मार्ने प्रयास नगर्नुहोला । म स्वदेशमै गएर केही गर्न चाहन्छु । यदि मलाई मर्न दुरुत्साहित गर्नुभयो भने, म तपाईंविरुद्ध ज्यान मार्ने उद्योग र खर्चको सम्पूर्ण बिगोसहित माग दाबी गर्ने छु ।”

कथाकार तन्द्रामै बरबराउँदै थियो ।

“के को पचहत्तर लाख……” भन्दै श्रीमती हातमा चियाको कप बोकेर हाँस्दै थिइन् । बकैनाको बोटमा काग कराउँदै थियो । जुरुक्क उठेर कथाको अन्त्यलाई परिवर्तन गरी बिट मार्ने सोचमा पुग्यो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.