साहित्यपोस्ट डट कम

लघुकथाः स्वाभिमान

लघुकथाः स्वाभिमान

“मन्त्रीज्यू नमस्कार !”

मन्त्री पदको शपथ ग्रहण गरेर पद बहालीका लागि जाँदै गर्दा फोन आएको थियो । उक्त फोन मेरो छोराको थियो । आफ्नो कार्यक्षेत्रको व्यस्तताका कारण मेरो शपथ ग्रहण कार्यक्रममा ऊ उपस्थित हुन सकेको थिएन ।

“शपथ ग्रहण भै सक्यो मन्त्रीज्यू ?” उसले प्रश्न गर्यो।

“भयो । शपथ ग्रहणपछि पद बहालीका लागि मन्त्रालय जाँदैछु । गाडीमा छु ।” मैले जवाफ फर्काएँ ।

“झण्डावाल गाडीमा कस्तो लागिरहेको छ त ?“, उसले अलि ठट्यौलो पारामा सोधेको थियो ।

“विभिन्न पदमा बसेर काम गरिरहेकाले यो कुनै नौलो लागेको छैन् । पार्टीले दिएको जिम्मेवारी वहन गर्ने हो । राष्ट्र र जनताको पक्षमा सक्दो काम गर्ने प्रयास गर्ने हो । खासै उत्तेजित छैन । सामान्य रूपमा लिएको छु ।” मैले सहज जवाफ फर्काएँ ।

“समाजमा हाम्रो जुन छवि छ, जुन स्वाभिमान छ, त्यो गिराउने काम नगर्नुहोला । हजुरका कारण हामीले शिर झुकाएर हिँड्नुपर्ने अवस्था सृजना नहोस् । यही शुभकामना प्रकट गर्दछु …………. “।

उताको आवाज निरन्तर थियो । गाडी मन्त्रालय परिसरभित्र पुगिसकेकाले मैले फोन काटेँ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.