म दोधारमा छु आजभोली । सम्झिन्छु म कठोर बनूँ तर मन कोमल छ । कोमल हुन पनि सम्भव छैन । मेरो कोमलताको नतिजा जे पनि आउन सक्छ । कठोर बनेर उठीबास लाउन अगाडि बढ्छु । फेरि उठेका हात र अगाडि बढेका पाइला रोकिन्छन् । हरे ! यो कस्तो धर्मसंकट हो मलाई ? म आज त निर्दयी बन्छु बन्छु भनेर कतिपटक तम्सिएँ तर अहँ सकिनँ ।
सोच्छु, "कठै ! तिनीहरूको पनि सपना होला घरजम गर्ने, सन्तान जन्माउने ।" म चराहरू देख्छु, मिलेर आउँछन्, झ्यालबाट चिहाउँछन् । द्वार खुल्ला पाए भित्र विराजमान हुन्छन् । एकार्कामा मायाको भाव दर्शाउँछन् । त्यो दृश्य देख्दा मन प्रफुल्लित पनि हुन्छ । तिनलाई देख्दा लाग्छ, कसले पो कसैलाई विस्थापित गराउन चाहला र ? बाध्यताले मान्छे कठोर हुन कर लाग्दो रहेछ । शायद कठोरताको पर्याय नै परिबन्द हो । जसमा परेर मान्छेले बाध्यतावश अप्रत्याशित कसैमाथि क्रूर बन्न विवश हुनुपर्छ ।
हो, म केही दिनदेखि यही रमिताको रमिते भइरहेकी छु । मन दोसाँधमा अल्झिएको छ । बास दिऊँ या नदिऊँ भनेर । सोचेँ, खेदेर उठीबास लाएँ भने मलाई आँशुको श्राप लाग्ने हो कि ? बस्न दिऊँ आफैँलाई उठीबास लाउला कि भन्ने पीर । शायद सुकुम्बासी भएरै मेरोमा बास खोज्न आयो होलान् । यसो सोच्दा सन्तान जन्माउने सूरमा छन् जस्तो पनि लाग्यो । झन् यो अवस्थामा कसरी विस्थापित गराउनु ?
तर जे भए पनि तिनीहरूलाई बास दिनु भनेको दुवै पक्षका लागि हानीकारक हो । बास दिए तिनीहरू भुर्र उडेर मेरै ग्यासचुल्होमा जलेर मर्लान् भन्ने पीर किनकी त्यो जोडीको लक्ष्य मेरै चुल्होमाथी गुँड बनाउने थियो । अर्को खतरा तिनीहरूको गुँडमा सर्पको विराजमान होला र हामीलाई खतरा होला अनि सुलसुले फैलिएर हामी नै विस्थापित होऔंला भन्ने डर ।
स्थापित गरुँ दुवैतर्फ सुरक्षा नहुने, नगरुँ क्रूर शासकझैं भइने । नचाहेरै पनि उनीहरूकै रक्षाका निम्ति तिनलाई खेद्ने प्रयास गरें । अन्त्यमा बास खोज्न आएका एकजोडी परेवा भुर्र उडेर मेरो मन पनि सँगै चुँडेर गए । मलाई कहाँ इच्छा थियो र कसैलाई विस्थापित गरेर सुकुम्बासी बनाउने ? तर म परिबन्दमा परेँ ।
