साहित्यपोस्ट डट कम

लघुकथाः श्रवणकुमारहरू

लघुकथाः श्रवणकुमारहरू

मुलसडक छाडेर भित्री गल्लीमा भएको निजी निवासतर्फ फर्कंदा घाम डुब्न डुब्न लागेको थियो । यात्रु प्रतीक्षालयमा दुईजना वृद्ध-वृद्धा बसिरहेको देखेँ । म खासै कमलो मन भएको मान्छे त थिइन तर यसबेला नौला बुढाबुढीलाई त्यहाँ देख्दा उनीहरू समक्ष गएँ ।

“ बाबु ल्याइस् ?” वृद्धाले एकातर्फ हेरेर सोधिन् ।

उनीहरूको हाउभाउ हेर्दा तिनले आँखा देख्दैनन् जस्तो लाग्यो ।

“ के ल्याउनु पर्ने हो ?” मैले सोधेँ ।

“ ए हामीले त हाम्रो बाबु आयो भन्ने ठानेको ।” उनीहरूले एकै स्वरमा भने ।

“कताबाट आउनु भयो ? कता जान लाग्नु भएको ? अब त साँझ पर्न आँट्यो, कता बास बस्नु हुन्छ ?” भरखरैको सिकारु पत्रकारले सोधे जसरी प्रश्नहरूको वर्षा गर्न थालेँ ।

“घर पश्चिम हो । छोराले जता लैजाला त्यतै जाम्ला । हामीलाई त साँझ, रात, बिहान सबै एउटै त हो । कतै बास बसाउला नि ।” छोराप्रति भरोसा र विश्वास थियो वृद्ध बुबाको ।

“ छोरो खोइ र ?” मैले सोधेँ ।

“ हामीलाई पानी प्यास लागेर पानी खोज्न गएको छ ।”

मैले उत्तर पाएँ ।

“तपाईंहरूको छोराको नाम के हो ?” सोध्न हुने हो वा होइन थाहा भएन तर मैले सोधेँ ।

“ श्रवणकुमार ।” दुवैले भने ।

नजिकैको पसलमा गएर पानी किनेर ल्याएँ र उनीहरूलाई दिन खोजेँ तर उनीहरू आफ्नै छोरालै ल्याउने पानीको प्रतीक्षामा बसे ।

“कुवा, धारा र इनारबाट समेत पानी लिन जाँदा त मारिन्छन् श्रवणकुमारहरू, शहरको पसलहरूबाट पानी कसरी ल्याउलान् ? न्यूरोड, पुतली सडक, बानेश्वर जताततै दशरथ महाराजहरू श्रवणकुमारहरूको सिकार खेल्न दौडिरहेका देखिन्छ्न् राजधानीमा । बिचराहरू तिर्खाले मर्ने भए ।” मेरो मनमा कुरा खेल्न थाल्यो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.