“भेट्दै भेट्दैन यार ।” रत्नेले भन्यो ।
“यो थुप्रोमा कहाँ भेट्नु ?” उसलाई साथ दिन अस्थायी सेल्टर देखि आएको मोतीले पनि हार मान्यो ।
नजिक भेटिएको काठको डण्डीले खोस्रन पनि खोजे दुवैजनाले । आशा अझै मरेको थिएन ।
“ ठूला मान्छेको पनि आफ्नै मात्र ध्याउन्न हुने हो क्यार ।” उसको बोलीमा गुनासो थियो ।
कुराको मेसो नपाएर मोतीले उसलाई जिज्ञासु आँखाले हेर्यो ।
“ बाबा ममीले पनि आ-आफ्नो सामान मात्र निकाल्न भ्याएछ्न् ।” रत्नेको परिभाषामा ठूला मान्छे आफ्नै बुबा आमा रहेछन् अहिलेलाई । आफ्नो कुरा प्रष्ट पार्यो ।
केही समयको प्रयास पछि दुवै थकित देखिए ।
पल्लो तर्फ मोतीको घर भएको पुरानो ठाउँमा गएर “पानी पिउन मन लाग्यो अन्टी ।” भन्दै अभिनय गर्यो रत्नेले ।
“तेरै घर पिए हुन्छ ।” मोती पनि जिस्किन के कम ! तर पुरानो समय दुवैलाई याद आयो ।
“अब तेरो र मेरो घरसँगै हुन्छ कि हुँदैन होला ?” अहिले भने रत्ने अलि गम्भीर देखियो ।
“ जहाँ भए पनि भेट्न आइज ल ।” मोतीले भन्यो ।
उनीहरू भग्नावशेषको थुप्रोमाथि डुल्दै थिए । स्कूल पनि ढलेको देखेपछि दुवैको मन खिन्न भयो ।
“ जे सि बि ले स्कुल पनि भत्काएछ ।” लामो श्वास फेर्दै मोतीले भन्यो ।
“ ए फुच्चेहरू के देखिरहेछ तिमीहरू ।” कसैले सोधेको देखेर उनीहरू पछाडी फर्के । कवाडी उठाउने मान्छे रहेछ ।
“हामी त हाम्रो किताब कपी राखेको झोला खोज्न आएको ।” रत्नेले भन्यो ।

