साहित्यपोस्ट डट कम

लघुकथाः सेयरबजारका हाकिम

लघुकथाः सेयरबजारका हाकिम

सेवाग्राहीहरूको भीड हुने जिल्ला प्रशासन कार्यालय । समस्या थुप्रै, तर समाधान न्यून । हाकिमसाब बिहान दश बजे कार्यालयमा हाजिर हुन्थे । दिनचाहिँ फरक शैलीमा बित्थ्यो । घडीमा ११ बज्नासाथ सरकारी ल्यापटप खोल्थे, कुनै सरकारी कामका लागि होइन, सेयर खरिदबिक्रिका लागि । कार्यालयमा काम जति नै गम्भीर प्रकारकाे भए पनि हाकिमको ध्यान सधैँ सेयर बजारको उतारचढावमै केन्द्रित रहन्थ्यो । “आज कुन स्टक किन्ने ? कुन बेच्ने ? कुनमा सर्किट लागेकाे छ ? स्मार्ट मनीले कुन स्टक खरिद गर्दैछ ?” हरियाे र राताेकाे द्वन्द्व हेर्दैमा ३ बजिहाल्थ्याे !

एक दिन, जिल्लाको फलानो क्षेत्रमा सुख्खा पहिरो गएको खबर एक कर्मचारीले जाहेर गरे । हाकिमले आँखा ल्यापटपबाट नहटाई उत्तर दिए, “तपाईं समस्या समाधान गर्दै गर्नुहाेस् । म यहाँ बजारकाे पहिरो पन्छाउँदैछु ।” कर्मचारी नबुझेझैं गरेर फर्किए । हाकिमको मुड सेयर बजारको इन्डिकेटरमा निर्भर रहन्थ्यो । बजार उकालो लाग्दा उनी प्रफुल्ल देखिन्थे, ओरालो लाग्दा भने कर्मचारीलाई झर्कोफर्को समेत गर्दथे ।

केही दिनदेखि परिस्थितिमा फेरबदल आएको थियो । कार्यालय समयमा सरकारी कर्मचारीले सेयर खरिद बिक्री गर्न नपाउने गरि सरकारले टि.एम.एस. Trade Management System चलाउन रोक लगायाे । उक्त आदेशले हाकिमलाई नराम्रोसँग प्रभाव पार्याे । TMS बन्द भएपछि हाकिम एक हप्तादेखि देखा परेका थिएनन् । स्वेच्छिक अवकाश लिँदै छन् रे भन्ने गाइँगुइँ कार्यालयभित्र चल्न थालेकाे थियाे ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.