काठमाडौं । तीन स्रष्टा विश्वराज अधिकारी, डा. कुसुमाकार शर्मा गौतम र खेमराज पोखरेलद्वारा संयुक्त रूपमा लेखिएको लघुकथासङ्ग्रह ‘त्रिकुटी’ लोकार्पण गरिएको छ । शब्दार्थ प्रकाशनको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा सम्पन्न समारोहमा कृतिको विमोचन गरिएको हो ।
छन्दकवि प्रा. पीताम्बर दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा कथाकार भागीरथी श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । कृति सार्वजनिक गर्दै श्रेष्ठले लघुकथाले थोरै शब्दमा ठूलो यथार्थ बोल्नुपर्नेमा जोड दिँदै कृतिको विषयवस्तु र शैलीको प्रशंसा गर्नुभयो ।
कृतिका विभिन्न खण्डमाथि समीक्षकहरूले विस्तृत विश्लेषण प्रस्तुत गर्नुभएकाे थियाे । समीक्षक महेश पौडेलले विश्वराज अधिकारीका कथाहरूलाई “मितव्ययी लेखनको नमुना” बताउँदै राष्ट्रभावना र विसङ्गतिविरुद्धको सशक्त अभिव्यक्तिको चर्चा गर्नुभयो । डा. दीनबन्धु शर्माले खेमराज पोखरेलको खण्डमाथि टिप्पणी गर्दै कथाहरूले जीवनका गहिरा पीडा र आशालाई उजागर गरेको धारणा राख्नुभयो ।
नियात्राकार तथा समीक्षक डा. नवराज खतिवडाले डा. कुसुमाकार शर्मा गौतमका कथामा ‘हाइब्रिड’ शैलीको प्रयोगले नाटकीयता थपिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार छोटो वाक्य संरचनामा लेखिएका कथाहरूले गहिरो प्रभाव पार्न सफल छन् ।
कार्यक्रममा डियर वाक स्कुल, सिफलका विद्यार्थीहरूबीच गरिएको समीक्षा प्रतियोगिताका विजेताहरूलाई पुरस्कार समेत प्रदान गरिएको थियो । साथै नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले ‘त्रिकुटी’ले नेपाली लघुकथामा महत्वपूर्ण योगदान थपेको बताउनुभयो ।
कार्यक्रममा लेखक डा. कुसुमाकार शर्मा गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो भने खेमराज पोखरेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सभापति दाहालले कृतिभित्रका कथाहरूले पाठकलाई सोच्न बाध्य बनाउने उल्लेख गर्दै कार्यक्रम समापन गर्नुभयो ।
लघुकथामार्फत समकालीन समाजका विविध आयाम उजागर गर्ने ‘त्रिकुटी’ले साहित्यिक वृत्तमा बहस र चासो दुवै सिर्जना गर्ने अपेक्षा गरिएको छ

