साहित्यपोस्ट डट कम

लघुकथा : ऋण

लघुकथा : ऋण

“देश त सधैँ आन्दोलनमै अड्कियो, जनतालाई चाहिँ महँगीले सासै फेर्न नदिने भो,” बिहान आँगन बढार्दै आशा आफैँसँग बोल्दै थिई ।

पढेर के गर्नु ? बुढाले सरकारी जागिर त के, नामै निकाल्न सकेन । रातभरि रक्सी, बिहान घाम झुल्किँदासम्म निद्रा । यस्तो बुढो कसैलाई नपरोस् भन्ने लाग्थ्यो उसलाई ।

त्यतिकैमा हरि आँखा मिच्दै ढोकामा आयो,

“के भयो फेरि बिहानैदेखि एक्लै बर्बराइरहेकी छ्यौ ?”

“के हुनु र ? सहकारीको ऋण तिर्न नसकेर ब्याजै ब्याज थपिँदैछ । किस्ता तिर्दै थाकिसकेँ,”

आशाले मनको भारी पोखी ।

मुख धोएर फर्किँदै हरिले भन्यो,

“ल चिया बनाऊ, म फेरि ऋण काढेर पशुपालन गर्छु ।”

आशा चुप लागी ।

१३ वर्ष भयो विवाह गरेको, १३ वर्षदेखि माइतीको सहयोगमै घर चलेको थियो । अन्तिम उपाय सोचेर हरिले सुसुरालीतिर फोन घुमायो—अमेरिकामा बसेको साइँलो भाइ रविनलाई ।

“भाइ, दुई लाख सहयोग चाहियो, पशुपालन शुरु गर्न…”

कुरा नसकिँदै फोनभित्रबाट कठोर आवाज आयो—

“यहाँ पैसा फलेको छ र ? यत्रा वर्ष सहयोग गरियो, केही नतिजा छैन । भिक माग्न बन्द गर्नुहोस् । बरु बाटोमा थापेर बस्नुस् ।”

फोन काटियो ।

हरि मौन भयो ।

आशाका आँखाभरि आँसु टल्किए ।

“हो, कति माग्नु माइतीमा पनि ! ”उसले बिस्तारै भनिन्, “सहरमा बसेर के गर्नु ? महंगी बढ्दैछ, ऋण बढ्दैछ । देशको राजनीतिले सहकारी डुबायो… अब हामी पनि डुब्ने पालो आयो ।”

आँगनमा फैलिएको घाम उज्यालो थियो तर घरभित्र ऋणको अँध्यारो अझै बाक्लिँदै गइरहेको थियो ।

ट्याग: कर्मयुग
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.