साहित्यपोस्ट डट कम

लघुकथा: राष्ट्रप्रेम

लघुकथा: राष्ट्रप्रेम

“जनतामा भ्रम छरेर राजनीतिक राेटी सेक्ने मात्र उद्धेश्य हाे । केही हुनेवाला छैन ।” गिलासकाे घुट्काे पिएर नमिठाे मुख बनाउँदै बाेल्याे विनायक ।

तीन नम्बर टेबलकाे वरिपरि बसेर पिउँदै थिए उनीहरू । यसै मेलाेमा राष्ट्रिय राजनीतिकाे गरमागरम बहस चर्काइरहेका थिए ।

“हाम्रा पूर्खाले वीरतापूर्ण लडाइँ लडेर जाेडेकाे भूमि एक इन्च पनि छाेड्नु हुँदैन । कालापानी, लिम्पियाधुरा, लिपुलेकका लागि फेरि एक भएर लड्नुपर्छ । सरकारले खुट्टा कँपाउनु हुँदैन ।” प्लेटबाट भुटनकाे एक टुक्राे चपाउँदै जाेस्सियाे बलराम ।

“रुसले अलस्का बेच्याे अमेरिकालाई । हङकङ उनान्सय वर्षका लागि बेलायतलाई लिजमा दिएको थियो चाइनाले । विभिन्न देशले भूमि सट्टापट्टा गरेर सीमा समस्या सुल्झाएका छन् । अनि हामीले पनि त्यसाे गर्न मिल्दैन ?” आफूले पढेको इतिहास ओकल्याे विनायकले ।

“भारतले थुप्रै ठाउँमा सीमा मिचेकाे छ । कसरी, कहाँ कहाँ सट्टापट्टा गर्ने ? सम्भव हुने कुरा गर् न यार !” अर्को जङ्गियाे ।

“कालापानी क्षेत्र भारतलाई दिने । सट्टामा झापाको दक्षिणी सीमाबाट सिलिगुडी करिडोर हुँदै बङ्गलादेश जाेड्ने बाटो माग्ने । यसाे गर्दा नेपालकाे समुद्री पहुँच सहज हुन्छ । दुवैलाई फाइदा । मनमुटाव खत्तम ।” विनायकले दृढतापूर्वक विचार राख्यो ।

“भारतीय विस्तारवाद विरुद्ध कति आन्दोलन गरियो । कतिपटक जेलनेल भाेगियाे । आफ्नो घरजम सम्म गर्ने फुर्सद नपाएर एकल जीवन काट्दै याे अवस्थामा पुगियो । यी नाथे ठेट्नाहरू बडो बुझक्कड बनेर फुर्ती छाँट्दै छन् ।” उनीहरूको कुरा सुनिरहेका, दाह्री कपाल पालेका दार्शनिक जस्ता देखिने वृद्ध विरक्तिएकाे भावमा एक्लै बर्बराउँदै थिए ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.