साहित्यपोस्ट डट कम

लघुकथा: प्यारो किताब

लघुकथा: प्यारो किताब

हरिकृष्ण आफूलाई पुस्तक प्रेमी देखाउन चाहन्छ । साहित्यकार हुन चाहन्छ । ऊ सामान किन्ने क्रममा किताब पनि किन्छ । घरमा पुस्तकको लागि एउटा दराज छुट्याएको थियो । तर परिवारले यो कुरा मन पराइरहेका थिएनन् ।

उसलाई अचानक जुत्ता राख्ने नयाँ र्याकको रहर जागेर आयो । उसले ल्यायो पनि । तर समस्या पनि साथसाथ आइपुग्यो । राख्ने कहाँ ? ऊ निकैबेर घोत्लियो । घरभित्रको बरण्डा छेउमा साहित्य र पाठ्यक्रमका किताबहरूले भरिएको एउटा पुरानो दराज थियो ।

उसकी श्रीमतीले भनी, “जुत्ता त जहिले पनि चाहिन्छ । यी किताब त कहिलेकाहीँ मात्र न काममा आउने हुन् ! किताबको दराजलाई नै बाहिर निकालौँ ।”

उसले श्रीमतीको दबाबमा किताबको दराजलाई हेलापूर्वक बाहिर निकाल्यो । केहीबेर बरन्डामा नै छोड्यो । त्यहाँ राख्दा पनि उसकी श्रीमती र छोराको चित्त बुझेन । श्रीमती र छोराले भने, “यहाँ पनि भएन । फोहर देखियो । वाहियात किताब किन राख्ने ?”

उसले दराजबाट किताबहरू निकालेर बोरामा खाँद्यो र घर पछाडि लगेर राख्यो ।

उसको छोरो विकासले विद्यावारिधि गर्न लाग्यो । उसलाई सन्दर्भ सामग्रीका रूपमा पुराना पुस्तकहरू चाहिए । बाबु छोरा दिनभरि किताबको खोजीमा शहरका पुस्तक पसल चहारे । चाहिएका किताब नपाएपछि घर फर्केर छोराले भन्यो, “ बाबा, हामीले फालेका किताबमा काम लाग्ने किताब त थिएनन् ?”

अब उसलाई आफुले बोरामा हालेर घरपछाडि लगेर राखेका पुस्तकहरुको याद आयो । बाबु छोरा दौडेर घर पछाडि गए र किताबहरू हालेको बोरा खोतल्न थाले । छोरालाई चाहिने किताब त बोरा भित्रै रहेछन् ! हत्तपत्त पुस्तक हातमा लिएर छोरोचाहिँ खिन्न भयो, “महत्त्वपूर्ण पाठ नष्ट भएको पुस्तक के काम !”

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.