साहित्यपोस्ट डट कम

लघुकथा: पृथ्वीकी आमा

लघुकथा: पृथ्वीकी आमा

“कुखुरी काँ” गरेर भालेले पोथीलाई सोध्यो ।

“तिमी कति वर्षकी ?”

क क कट्याँस्, क क कट्याँस् गरेर पोथीले जवाफ दिई

“म त पचास वर्षकी, म त पचास वर्षकी…”

भाले सोचमग्न भयो । पत्याएन पोथीका कुरा र फेरि घरको धुरीमा चढेर, घाँटी तन्काएर, सारा संसारका पोथीहरूले सुन्नेगरी सोध्यो,

“कुखुरी काँ..” “तिमी कति वर्षकी ?”

पोथीलाई झोँक चल्यो । जति उत्तर दिए पनि सोध्न नछोड्ने यो घमण्डी भालेलाई मेरो चमत्कार देखाएरै छोड्छु आज । ऊ हतारहतार गुँडमा गई । एउटा अण्डा पारी र भालेलाई देखाउँदै भनी,

क क कट्याँस् क क क क कट्याँस् क क..।

“हेर भाले मैले जन्माएको यो पृथ्वी । म हरेक दिन एकएकवटा पृथ्वी जन्माउन सक्छु । मैले जन्माएको पृथ्वी र तिमी उभिएको पृथ्वीबिचको बनोटमा समानता छ । मेरो पृथ्वीलाई मान्छेले अन्डा भन्छन् । यो अन्डाको बाहिरी तह पृथ्वीको झैँ सतही भाग हो । यसलाई फुटाएर हेर्दा देखिने बिचको सेतो भाग पृथ्वीको झैँ मध्यभाग हो र पहेँलो भाग पृथ्वीको झैँ कोर अर्थात् केन्द्रीय भाग हो । यस अर्थमा यो पृथ्वी र मैले जन्माएको पृथ्वी उस्तै हुन् ।

त्यसैले कान खोलेर सुन भाले – “यो पृथ्वी मैले नै जन्माएकी हुँ । किनकि म आमा हुँ । आमा सृष्टिकर्ता हुन् । लाखौँ वर्षअघि नै पृथ्वी जन्माउन सक्ने मजस्ता आमाको उमेर तिमीले अहिले सोधेर हुन्छ ?”

पोथीका कुराले ‘भालेसात्तो’ उडेछ भालेको । मुखबाट एक शब्द ननिक्लेपछि थचक्क भुइँमा बस्यो । पृथ्वी जन्माउने आमालाई साष्टाङ्ग दण्डवत् गर्यो र आँखा चिम्लेर सबै आमाहरूका लागि ध्यानस्थ बन्यो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.