साहित्यपोस्ट डट कम

लघुकथा : प्रतिक्रिया

लघुकथा : प्रतिक्रिया

“ढल्यो , ढल्यो , गर्ल्याम्म ढल्यो ।” ऊ चिच्यायो ।

उसको औँलाको संकेततिर मैले नजर दौडाएँ । अलि पर एउटा बुढो रुख दुई चिरा परेर उत्तानो परेको थियो । हामी जङ्गलको यात्रामा थियौँ, उतैतिर लाग्यौँ । जङ्गल सुनसान थियो । अचानक रुख ढल्दाखेरिको चिच्याहटले साना ठूला सबै जनावरहरू दौडिएर घटनास्थलमा पुगे । उनीहरू विभिन्न पक्षबाट प्रतिक्रिया जाहेर गर्न थाले ।

केही जनावर रुँदै भन्दै थिए, “यो घना रुखले दिने छहारी र शीतलता अब हामीलाई कसले दिन्छ ?”

केही जनावर भन्दै थिए, “ नवीनताको उदय हुन प्राचीनता ढल्नुपर्छ ।”

सकारात्मक र नकारात्मक, पक्ष र विपक्ष प्रतिक्रिया चलिरहेको थियो । हेर्दा हेर्दै जनावरहरू पक्ष र विपक्ष दुई भागमा विभाजित भए । आआफ्नो पक्षको भाग ओगटेर विलौना गर्दै थिए । बीचमा जरो एक्लै आशावादी भएर खिस्स हाँसिरहेको थियो । मैले उसको अनुहार पुलुक्क हेरेँ ।

उसले मेरो मनोदशा बुझेर भन्यो, “जे हुन्छ, राम्रैका लागि हुन्छ रे !”

म फिस्स हाँसेँ र भनेँ , “समय बलवान छ । मूल्याङ्कन गर्ने जिम्मा उसैको पोल्टामा छाडौँ ।”

उसले भविष्यवाणी गर्दे भन्यो, “कालान्तरमा यही जराबाट नयाँ किरण उदाउनेछ ।”

ट्याग: लता के.सी.
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.