“जाऔँ मेरो घर । बिदामा के बस्छौ एक्लै ?”
“आँपको सिजन छ खाऔँला, घुमौँला ।” नन्दकिशोरले साथी दिक्पाललाई आग्रह गर्यो ।
दिक्पाल माथि पहाडतिरको । नन्दकिशोर तराईबासी । दुवैजना अध्ययनको सिलसिलामा काठमाण्डौँमा भेट भएका हुन् । दुवैका लागि काठमाडौँ बिरानो थियो । पराइ थियो । त्यसैले त उनीहरू एकआपसमा नजिक भए । मित्र भए ।
एक हप्ता बिदा भएका कारण नन्दकिशोर घर जाने सुरमा थियो ।
बिदाको समय कम र बाटोखर्च बढी लाग्ने कारण दिक्पाल भने घर जाने मनस्थितिमा थिएन । त्यसैले, नन्दकिशोरले साथीलाई पनि आफ्नो घर जान आग्रह गरेको थियो ।
अर्को बिहानै बस चढे उनीहरू । साँझ घर पुगिहाले ।
पहिलोपटक तराई झरेको दिक्पाल गर्मीको भुङ्ग्रोमा उकुसमुकुस भयो । चापाकलको चिसो पानी पिउँदा शीतल महसूस त भयो तर ठुस्स गनाएर धीत मरुन्जेल पिउन पाएन ।
रातभर पङ्खा चलाए पनि राम्ररी निदाउन सकेन । बिहानीपख झुपुक्क भएको थियो । ब्युँझिदा घाम झलमल्ल भैसकेको । शौचालय जान खोज्यो ऊ ।
“शौचालय त बाहिर जानुपर्छ ।” नन्दकिशोरले भन्यो ।
हिजो बसमा आउँदा किनेका पानीका रित्ता बोत्तल नन्दकिशोरले चापाकल चलाएर भर्यो । दुवैले एकएकवटा समाएर खेततिर लागे । खेतमा यत्रतत्र मान्छेहरू काम गरिरहेका थिए ।
दिक्पालले बडो असजिलो महसूस गर्दै थियो ।
“ऊ त्यो झाङको उतापट्टि बस । म यता जान्छु ।” नन्दकिशोरले देखाउँदै इशारा गर्यो ।
अप्ठ्यारो मान्दै झाङमा छेलिएर बस्यो दिक्पाल । हल्का हुँदै थियो, अड्याइ राखेको बोत्तल भुक्लुक्कै ढल्यो ।
“अब के गर्ने ?” सोच्दै थियो ।
हात प्याट प्याट पड्काएको आवाज सुन्यो । सुर्ती मोल्दै कोही त्यतै आइरहेको देख्यो ।
ऊ जुरुक्कै उठ्यो र टाउको अर्कोपट्टी फर्काएर उभिइरह्यो ।

