साहित्यपोस्ट डट कम

लघुकथा: पात

लघुकथा: पात

मन्द हावा चल्यो । हावाको झोक्काले रुखबाट पात खसे । सुनिता एकछिन टोलाएर त्यो रुखतिर हेरेरै बसिरही । पात खस्दैमा रुखलाई के फरक पर्थ्याे र ? रुख शान्त थियो, अडिग थियो, मानौँ केही नै भएको छैन । त्यही बेला उसलाई बाेध भयाे । “तिमी रुख रै’छौ आफ्ना आकाशतिर फैलिएका हाँगासँग उस्तै उभियाै । आफूलाई त्यही रुखको पातसँग दाज्न पुगेछु । म झरेँ, हावाले उडायो, माटोले सम्हाल्यो, पीडाले रुवायाे ।” मनन गरी ।

शायद रुखलाई प्रत्येक पात झर्नुमा बानी परिसकेको हुन्छ तर पातका लागि रुख नै संसार हुन्छ । पात झर्दा रुखलाई फरक नपर्ला तर पातको अस्तित्व नै रुखमा अडिएको हुन्छ नि । अनि मलाई लाग्यो म तिम्रो हाँगामा पलाएको हरियाली थिएँ, तिम्रो छायामा मुस्कुराएकी ऋतु थिएँ । आज झरेर टाढा भए पनि, मेरो हर एक रेशाभित्र तिम्रै स्पर्श बाँचेको छ ।

रुख बलियो भएर उभिन सक्छ, उभिएको देखें पनि । तर झरेको पातको सुस्केरा सुन्न सकेको भए शायद उसले पनि एकछिन आफ्ना जराहरूभित्र कम्पन महसुस गर्दो हो । रुखमा त्यस्ताे भावना पैदा हाेला र ?

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.