साहित्यपोस्ट डट कम

लघुकथा: निर्णय

लघुकथा: निर्णय

रामविलास आज बिहानै तयार छ भोट खसाल्न । हुन त हिजो खाएको मासु र विदेशी रक्सीले उसको टाउको घुमाइरहेको छ । यो भन्दा पहिलाको चुनावहरूमा मधुसूदनले मासुसँग देशी रक्सी खुवाउने गरेको थियो । मधुसूदन उनीहरूको नाइके, जहिले पनि चुनावमा यस्तै गर्छ । उसले भनेको चिह्नमा भोट खसाल्न लगाउँछ । घुमिरहेको टाउको समात्दै रामविलासले पहिलेको चुनावहरू सम्झियो । अघिल्लो चुनावको एक दिन अगाडि राती उसको साइकल हराएको थियो मधुसूदनकै लहडमा डुल्दा । त्यतिखेर मधुसूदनले उसलाई अर्को साइकल दिलाइदिने वाचा त गर्यो तर पूरा गरेन । बरु उसले चढ्ने भट्भटेको सट्टामा गाडी चढ्न थाल्यो । उसको रवाफै अर्कै छ । तर यसपटक एउटा वाचाचाहिँ पूरा गर्यो उसले, देशीको ठाउँमा बेलायती रक्सी खुवाएर ।

भोटबुथमा बिहानदेखि नै चहलपहल छ । मानिसहरू यताउता गर्दै छन् । रामविलास घरबाट भोट खसाल्ने ठाउँतिर लाग्छ । मधुसूदनले बिहानै बोलाएको थियो । टाउको घुमाएकाले ऊ अलि ढिलो भयो । बाटोमा उसलाई एक्कासी चन्द्रमोहनको छोराको सम्झना हुन्छ । उनीहरूको गाउँकै चन्द्रमोहनको छोरा पढाइ सकेर आएको छ । आएदेखि ऊ अलि फरक कुरा गर्छ । राजनीतिका कुरा झिक्छ । नेताहरूले काम गरेन भन्छ । हाम्रो भोटले नेता भएको हो, हाम्रो काम गर्नुपर्छ भन्छ । होइन भने हामीले सहन हुँदैन । तिनीहरूलाई गाउँ पस्न दिन हुँदैन भन्छ । सरकारी अड्डामा गएर हल्ला खल्ला गर्छ । विकासको काममा गएर कतिपटक राम्रो काम भएन भनेर काम रोकेको उसले देखेको छ । सरकारी कर्मचारी ऊदेखि डराउँछन् । उसलाई साथ दिनेहरू पनि दिनदिनै बढ्दै छन् । मानिसहरू केटामा दम छ भन्छन् । रामविलासको छोरा पनि त्यसकै पछि लागेर हिँड्छ । कति पटक त्यसरी नहिँड भनेर उसले छोरालाई गाली गर्दा पनि मानेन । त्यसले गाउँमा हलचल ल्याएको रामविलासलाई पनि लागेको छ । मानिसहरूलाई त्यसले साँच्चिकै मदत गरेको धेरैले उसलाई भनेको छ । यस पटकको भोटमा चन्द्रमोहनको छोरा पनि उठेको उसलाई थाहा छ । तर चुनावमा एक पैसा खर्च गरेको थाहा छैन । मधुसूदनले जस्तो गोजीभरि पैसा बोकेर उसको नाममा मासु रक्सी खुवाएको कसैले भनेको छैन । चुनावमा खर्च नगर्दा त्यसले कसरी भोट ल्याउला ? रामविलास सोच्दै हिँड्दैछ ।

बुथ भएको विद्यालयमा पुगेर उसले मधुसूदनलाई भेट्छ । मधुसूदनबाट आफ्नो नम्बर भएको एउटा रसिद थाप्छ, चुनाव चिह्न उसलाई थाहा छ र लाग्छ बुथतिर । नाम रुजु हुन्छ । चुनाव चिह्नमा छाप लगाउने बेलामा उसको दिमागमा चन्द्रमोहनको छोरा झुल्किन्छ । मानिसहरूले गरेका कुरा कानमा गुन्जिन्छ । मधुसूदनको वर्षैपिच्छेको प्रगति र आफ्नो अनि गाउँलेको अवस्था आँखा अगाडि घुम्न थाल्छ । एकछिन घोरिएर एक्कासी चन्द्रमोहनको छोराको चुनाव चिह्न छेउमा छाप लगाउँछ र आएर भोट खसाल्छ । फर्कंदा कतै पनि नहेरी चुपचाप घरतिर लम्कन्छ । टाउको भारी नै हुन्छ तर मन हलुका भएको अनुभव गर्छ ।

ट्याग: दिपेश राई
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.