साहित्यपोस्ट-नपढी सुखै छैन...

लघुकथा: मूल्याङ्कन

लघुकथा: मूल्याङ्कन

पहिलो वक्ता पोडियममा उक्लिएसँगै हल तालीले गुञ्जियो । दोस्रोले बोल्न थालेपछि पछाडिबाट सिठी बज्यो । तेस्रोले वाक्य पूरा नहुँदै कसैले मोबाइल उचालेर प्रत्यक्ष प्रसारण शुरू गरिसकेको थियो ।

मञ्चको छेउमा बसेका तीनजना निर्णायक मण्डलका कलम भने कागजमै दौडिरहेका थिए । उनीहरूले मूल्याङ्कनका लागि निर्धारित मापदण्डलाई पछ्याइरहेका थिए । दर्शक तथा श्रोताहरू भने आफ्नै किसिमले मूल्याङ्कन गरिरहेका थिए; कसैले भाषा हेरे, कसैले शब्द गने, कसैले तर्क टिपे, कसैले समय, अनि कसैले हाउभाउ, कसैले पोशाक, अनि कसैले संरचना र निष्कर्ष ।

अन्तिम वक्ताले धन्यवाद दिएपछि हलभरि फेरि आफ्नै-आफ्नै दाबी सुनिन थाले, "यसपालि पहिलो त हाम्रो मान्छे हो ।" निर्णायकहरू अर्को कोठामा पसे । बाहिर अनुमानहरू बढिरहे; भित्र अङ्क जोड्दै थिए ।

केहीबेरपछि निर्णायक मण्डलका संयोजक पोडियममा उभिए, "सबै प्रतिस्पर्धी उत्कृष्ट हुनुहुन्छ । तर निर्धारित मापदण्डका आधारमा..."

तेस्रो स्थानको नाम घोषणा भयो । हल चुपचाप रह्यो । दोस्रो स्थानसँगै केही अनुहार ओइलाए । पहिलो स्थान उच्चारण हुनासाथ एउटा कुर्सी पछाडि सर्‍यो । त्यसपछि अर्को । क्षणभरमै ताली नारामा फेरियो ।

"निर्णायक मण्डल मुर्दाबाद !"

"यो नतिजा हामी मान्दैनौँ !"

सुरक्षाकर्मीहरू मञ्चअगाडि उभिए । उद्घोषकको "शान्त हुनुहोस्" भन्ने आग्रह माइकको चर्को आवाजमै हरायो ।

त्यति बेलासम्म निर्णायक मण्डलका सदस्यहरू बाहिरिसकेका थिए । भीडले कुर्सीहरू फ्याँकिरहेका थिए, उद्घोषकको हातको नतिजा भएको फाइल च्यातचुत गर्दै थिए ।

हलबाहिर निस्कँदै एकजनाले रिसाउँदै भन्यो, "निर्णायकलाई केही थाहा रहेनछ ।"

अर्काले समर्थनमा टाउको हल्लायो र भन्यो, "ज्ञानको निर्णय गर्ने ठाउँमा अज्ञानीहरू पुगेछन् ।"

तेस्रोले भन्यो, "त्यसो भन्नु हुँदैन । मूल्याङ्कनकर्तामा ज्ञाननिष्ठ पनि छन् नि !"

"नाम मात्र ज्ञाननिष्ठ रहेछ, कर्मनिष्ठ रहेनछन्," अर्कोले प्रतिक्रिया जनायो ।

उद्घोषकले सम्झाइरहँदा अर्कोले भन्यो, "मूल्याङ्कनमा कहिलेकाहीँ यस्तै हुन्छ । मूल्याङ्कनको छन्द नमिल्न सक्ला, तर यहाँ त गन्ध आयो नि !"

त्यतिबेला एउटा स्वयंसेवकले भुइँमा छरिएका मूल्याङ्कन फारामहरू टिप्दै थियो । प्रत्येक फाराममा एउटै शीर्षक दोहोरिएको थियो; भाषा, तर्क, प्रस्तुति, हाउभाउ, पोशाक, समय, संरचना र निष्कर्ष ।

उसले हलभित्र हेर्‍यो । मञ्च खाली भइसकेको थियो । कुर्सीहरू अझै तातै थिए; मापदण्डभन्दा आ-आफ्ना पक्षको ताप धेरै बेरसम्म सेलाएको थिएन ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.