बुधबारको छिप्पिँदो साँझ । दिनभरिको कार्यालयको कामले थाकेको शरीर घिसार्दै म बासस्थानतर्फ फर्कँदै थिएँ । सडकका बत्तीहरू बल्न थालिसकेका थिए । अचानक मोडमा पुग्दा मैले एउटा पचाउन निकै गार्हो हुने दृश्य देखेँ । सडकको एकान्त कुनामा एउटा जोडी अंगालोमा बाँधिएर चुम्माचाटीमा व्यस्त थियो । हेर्न नसकेपछि मैले मुन्टो अर्कोतिर बटारेँ, तर आँखाले नदेखे पनि कानले त सुनिरह्यो । ‘चुप्पा-चाटी’ को आवाज अलि परैसम्म गुञ्जिरहेको थियो ।
बुढा चाँडो जाऊ ल, गाडी नपाइएला नि ? केटीले मधुरो स्वरमा भनी ।
पाइन्छ बुढी, पीर नगर न । केटाले जवाफ फर्कायो ।
म उनीहरूलाई उछिनेर अलि पर पुगेको मात्र के थिएँ, फेरि उही केटीको आवाज आयो,- बुढा, मेरो केही छुट्यो कि ?
केटाले खल्ती र हात छाम्दै भन्यो,- छैन छैन, केही छैन ।
बेबी, छुट्या छ… एक पटक अनुभव गर न ! केटीले चिप्लो घसेर जिद्दी गरी ।
केटाले फेरि ढुक्क हुँदै भन्यो,- छुट्या छैन, स्योर ।”
त्यसपछि केटीले अलि भावुक हुँदै भनी, – छुट्या छ के… मेरो माया !
म आफ्नै तालमा हिँडिरहेको थिएँ, त्यत्तिकैमा ती अधबैंसे महिला मेरै पछि आइपुगी भुतभुताउँदै-, “अर्काको बुढालाई माया गरेपछि यस्तै हो ! तन, मन र धनले मरिमेटेर माया गर्दा पनि कुरै बुझ्दैन । कुरा नबुझ्नेले कसरी बुझोस् माया ?”
वास्तवमा यहाँ कसको के छुट्यो ? ती महिलाको नैतिकता छुट्यो कि, त्यो पुरुषको इमानदारी ? या यो आधुनिक समाजबाट ‘निस्वार्थ माया’ नै सधैँका लागि छुट्यो ?
मैले पछाडि फर्केर हेरिनँ, तर मेरो कानमा अझै त्यही आवाज गुञ्जिरह्यो- “छुट्या छ के… मेरो माया !”

