“के लगिदिने कोसेली ?” प्रमिलाले मलाई सोधी ।
मैले झोलामा भएका पोकोहरू देखाउँदै भनेँ । “यी फापर, कोदोको पिठो, मुङको दाल, केही फलफूलहरू ।”
मेरो कोसेली देखेर प्रमिलाले व्यंग्यमय हाँसो फ्याँक्दै भनी, “छ्या ! यो अझै कुन जमानामा छे ? तँलाई लाज लाग्दैन ? अहिलेको जमानामा पनि आँटोपिठो कोसेली लिएर हिँड्नु ?
उसको व्यंग्यात्मक हाँसोको अर्थ मैले नबुझेझैं गरेर सोधें, “के भो त ! यो चाहिँ खानेकुरा होइन ?”
उसले जवाफमा भनी, ” यी मैले त ओरेन्ज जुस, स्प्राइट, कोकाकोला र चाउचाउ लग्दिँदैछु । जा कहाँबाट किनेको ? फर्का र प्याकेटका अरु नै खानेकुरा लिएर आइज । लाज होला है !”
अब भने मलाई मेरो खानेकुरामाथिको व्यंग्यात्मक हाँसोको जवाफ दिन मन लाग्यो र भनेँ, “तँ कसको घरमा जाँदैछस् र कस्ता मान्छे भेट्न जाँदैछस् ?”
उसले भनी, ” बुढाबुढी बिरामी बाआमा भएका रन्जुको घरमा ।”
फेरि मैले प्रश्न राखें, “उहाँहरू के-कस्ता रोगले ग्रसित हुनुहुन्छ ? त्यो पनि थाहा होला ।”
उसले भनी, “अँ थाहा छ र त भेट्न जाँदैछौं नि !”
“हेर प्रमिला ! कसको घरमा जाँदैछु वा उक्त घरका मान्छेहरू कति उमेरका ? के रोगले ग्रसित छन् ? यी सबको हेक्का राखेर त्यही अनुसार भेट्न जानुपर्छ ” मैले भनें ।
उसले तुरुन्तै जवाफ दिई, “अँ नसिका ! जे भए पनि म पिठोसिठो बोकेर चाहिँ जान्नँ । न घरमै ल्याउँछु । सुठिको साह्रो खोलेकै सर्दाम त के लानु हौ ?”
हामी रन्जुको घर पुग्यौं । वृद्ध बाआमा आ-आफ्ना ओछ्यानमा लडिरहनुभएको थियो । हामीलाई देखेर अनुहार उज्यालो बनाएर दुवैजना उठ्नुभो । मैले मेरो कोसेली दिएँ । “के ल्यायौ नानी ? पर्ने पनि थेन ।” भन्दै थाप्नुभो आमाले ।
प्रमिलाले पनि उत्सुकताकासाथ सबै कोसेली एकएक गर्दै आमाको अगाडि सारिदिई । प्रमिलाको कोसेली देख्नासाथ आमाले तर्सिंदै भन्नुभो, “नानी कोसेली त महङ्गा ल्याइछौ तर हामीलाई त डाक्टरले यस्ता खानेकुरा बन्दै नखानू भनेका छन् । अब तिमी नै लैजाऊ घरमा । केटाकेटीले खान्छन् नि ! तर अब त यस्ता प्याकेटमा बन्द भएका र कोक फेन्टाहरू पनि नखानु भन्दा रै’छन् । नभाको रोग लाग्ने । लागेको रोगलाई यस्तो खानेकुराले अझ बढाउने गर्छ अरे ।”
आमाको वाक्यले प्रमिलाले नतमस्तक बन्दै मतिर पुलुक्क हेरी ।
मैले पनि मेरा सस्तामस्ता पौराणिक कोसेलीहरू निकालेर आमालाई देखाएँ । आमाले खुशी हुँदै भन्नुभो, “कसरी जान्यौ नानी, बुवाआमालाई यस्तै खान्की चाहिन्छ भनेर ? आजकालकाहरू त यस्ता चिज भनेपछि नाक खुम्च्याउँछन् तर यस्तै खानेकुरा नै स्वास्थ्यका लागि राम्रो हो । धन्यवाद !”
मैले भनेँ, “आमा ! अबको समयले पुरानै ढाँचा पच्छ्याउँदैछ । पुराना जमानाका मान्छेहरूको आयु किन लामो हुन्थ्यो ? किन स्वस्थ्य हुन्थे ? भनेर बुझ्दा कारण यस्तै खानेकुरा र स्वच्छ हावापानी रहेछ ।”
मेरो कुरा सुनेर बुढाबुढीको मुहारमा मन्द हाँसोको लहर सल्बलायो ।

