गाउँको चौतारीमा झुन्डिएको एउटा ढ्याङ्ग्रो “कठपुतली भागी रे !” भन्दै बिहानैदेखि बज्न थाल्यो ।
यति सुन्नासाथ हावाले खबरलाई काँधमा बोकी गल्लीगल्ली पुर्यायो । चौतारीका ढ्याङ्ग्रा, घण्टी र नगराहरू एकाएक गर्जिन थाले । जसले जति ठूलो आवाज निकाल्यो, ऊ त्यति नै संस्कारको पहरेदार ठहरियो । शब्दका धूलोहरू उड्दै गए र सत्यको अनुहार छोपिँदै गयो ।
तर गाउँभन्दा पर, कमलाको किनारमा रहेको एउटा पुरानो सन्दुक भने चुपचाप थियो । उसको भित्री पेटमा केही कागजहरू निदाइरहेका थिए ।
कोलाहल मच्चाइरहेका ढ्याङ्ग्रा र नगराहरू अन्ततः सन्दुकअगाडि आइपुगे अनि गर्वले फुलेका आफ्ना पित्तलका छाती तन्काए ।
“किन मौन छस् ? तेरो कठपुतली त भागी नि !”
सन्दुक मुस्कुरायो । बिस्तारै आफ्नो ढकनी खोल्यो । भित्रका कागजहरू घाममा चम्किए ।
“ऊ भागेकी होइन ।” सन्दुकले भन्यो, “डोरी चुँडाएकी हो । वर्षौँदेखि अर्काको खुट्टामा बेरिएको आफ्नो धागो फुकालेर ऊ आफ्नै बाटो हिँडेकी हो ।”
एकाएक हावा रोकियो । धूलो भुइँमा बस्यो । ढ्याङ्ग्रा र नगराहरूको आवाज हरायो ।
केहीबेरपछि एउटा फुस्रो नगरा लजाउँदै बर्बरायो,
“त्यसो भए हामीले यत्रो समय बजाएको के रहेछ ?”
सन्दुकले उनीहरूतिर हेर्दै उत्तर दियो,
“तिमीहरू बाजा होइनौ, डोरीले नचाइएका कठपुतली हौ । फरक यत्ति हो- ऊ डोरी चुँडाएर हिंडी, तिमीहरू अझै बजिरहेछौ ।”

