सानो सेतो कुकुर दौडँदै म बस्ने घरको गेट छेउ आइपुग्याे । पछि पछि “लक्की !” भनेर कराउँदै आउँदै थिई १६/१७ वर्षकी किशोरी । म आँगनकाे डिलमा फूलहरू हेर्दै थिएँ ।
“ओहाे ! सूवर्ण सर । नमस्कार । के गर्दै हुनुहुन्छ ? लक्कीले दुःख त दिएन नि !”, उनले एकै सासमा साेधिन् ।
मैले जवाफ दिन नभ्याउँदै उनी कुदिसकेकी थिइन् । आफू यो ठाउँमा सरेर आएको बल्ल १ हप्ता भएकाे छ, उनले मेराे नाम कसरी थाहा पाइन् भनेर म छक्क परेँ । भाेलिपल्ट नजिकैकाे क्याफेमा भेट भयाे । उनले स्पष्टीकरण दिइन्, “म हजुरको सिर्जनाकाे फ्यान । खुब मन पर्छ तपाईंको लेखन शैली । पढ्न शुरू गरेपछि छाेड्नै मन नलाग्ने कविताहरू कसरी लेख्नुहुन्छ ?” अनलाइन साेसल मिडियामा भुलेकाे आजकाे पुस्ताले पनि किताब पढेर यस किसिमको प्रतिक्रिया दिइरहँदा म आफै दङ्ग परिरहेकाे थिएँ । सुमिना थियाे उनकाे नाम, सर्लक्क परेकाे जीउडाल, चञ्चल आँखा, मधुर बाेली । मैले लेख्दै गरेकाे ‘फलेदाे’ कथाकी पात्रसँग ठ्याक्कै मेल खाने उनी सजीव उभिएकी थिइन् र तारिफ गरिरहेकी थिइन् मेराे । “नजिकै छ मेराे बसाइँ पनि यसाे पाल्नुहाेला नि हाम्राे घरतिर नि । चिया खुवाउँला ।” यति भनेर उनी निस्किइन् ।
के उनी मेराे कथाकी पात्र अश्लेषासँग भावनात्मक रूपमै मेल खाने खालकी छिन् या शारीरिक बनाेट र हाउभाउ मात्र मिल्न पुगेकाे हाे । कथाकी पात्र अश्लेषा त महत्त्वाकाङ्क्षी छे ज्यादै । हुन त उमेरजन्य मनाेविज्ञानका कारण पनि हुन सक्छ । भविष्यका याेजना बारे खुब बहस गर्छे अश्लेषा । उसलाई याे थाहा थिएन कि युवावस्थामा हरेक मान्छे कल्पनाको सागरमा डुबुल्की मार्दै स्वप्नमहल बनाउँछन् । जब समयकाे आँधीले एउटा कुनामा लगेर पछार्छ, त्यसपछि यसैलाई भाग्यरेखा ठानेर चुपचाप स्वीकार्दै जीवनकाे डुङ्गा खियाउन थाल्छन् । साधना र साहस हुने हाे भने त याे मनाेवैज्ञानिक कमजोरीबाट बाहिर निकालेर वेग मार्न असम्भव छैन तथापि बहुसङ्ख्यक मानिस त्यसाे गर्न सकिरहेकाे देखिँदैन । अन्ततः अश्लेषा पनि यसैकाे सिकार भएकी थिइन् । अचानक भेटिएकी सुमिनालाई कथाकी पात्रमा एकाकार गर्दै अघि बढ्ने जिम्मेवारी थपिएको थियाे ममा । था’छैन कथाले कुन माेड लिने हाे । निद्रा आउन अन्कनाइरहेछ अचेल…।

