“ दिनभर पानी पर्यो ।” श्रीमतीले भनिन् ।
“चैत्रमा गोरु बेचेर सिरक किन्ने भन्ने उखान थियो ।” भन्दै उसले यस पटक थन्क्याउन ठिक पारेको ज्याकेट लगाउन थाल्यो ।
आज बिदाको दिन परेकोले उनीहरू झरीको दिनमा घरमा नै बसेका थिए ।
“ बाबा पानी कहिले रोकिन्छ होला ?” छोराले प्रश्न गर्यो ।
“ आज झरी परिरहन्छ जस्तो छ ।” जवाफ आमाको मुखबाट आयो ।
“ जहिले पनि यस्तै हुने ।” छोराले भन्यो ।
छोराको छटपटी देखेर उनीहरू हाँस्न थाले ।
“ के भयो, कता जानु थियो ?” उनले पनि छोरालाई जिस्क्याउन थालिन् ।
“ कतै जाने हैन ।” उसले छोटो जवाफ दियो ।
पानी अझ दर्कंदै थियो । उनीहरू चिया र भूटेको मकै खाँदै झरी मनाउँदै थिए । कार्यालय बिदा भएको दिन घरमा बसेको बेला पर्ने वर्षा निकै रमाइलो हुन्छ ।
“ हामी दशैंको बेला पनि रुझेर मामाघर गएको है ? ” छोराले सोध्यो ।
“ कसरी सम्झना आयो ?” उसले छोरालाई सोध्यो ।
दशैंमा परेको झरीले निकै अप्ठ्यारो पारेको थियो उनीहरूलाई । झरीलाई गाली पनि गरेका थिए । जानुपर्ने ठाउँ कटौती गरेका थिए ।
पानी बर्सिरहेको आकाशको बादलतर्फ हेर्दै छोराले भन्यो,
“बिचरा मेरो साथी सलिम, आज त उसको ईद हो रे नि !”

