साहित्यपोस्ट डट कम

लघुकथा: जाडोको अनुभूति

लघुकथा: जाडोको अनुभूति

ऊ सामान्य विद्यालयमा पढाउँदै थियो । श्रीमतीले भनिन्, “ए बूढा, तिम्रो सुख्खा तलबले घर चलेन । केही अर्कै काम खोज ।”

श्रीमानले टाउको कन्याउँदै भने, “पढाउने कामले अरु काम सोच्ने फुर्सदै छैन । आ, म त नदुखाएको कपाल दुखाउन्नँ । तिमी नै दुखाऊ ।”

श्रीमतीले खुशीले उफ्रिएझैं भनिन्, “आइडिया…मेरो चिनजानको दिदी भख्खर मन्त्री हुनुभएको छ । ह्वाँलाई भनेर कुनै ठाउँमा गज्जबको नियुक्ति दिलाउँछु है बुढा ?”

श्रीमान् एकछिन मजाले हाँसे अनि भने, “कुरा त यस्तो गर्यौ, मानौं तिमी नै कुनै चल्तपूर्जा कार्यालयको हाकिम हौ । मनको लड्डु घिउसँग खान छोड । खुरुखुरु आफ्नो काम गर ।”

श्रीमती आफ्नो काम गर्न थालिन् । मन्त्रीलाई पट्याइन् । नभन्दै उनको श्रीमानको नियुक्ति एक आयोगको आयुक्तमा पो भयो । हेर्दाहेर्दै सामान्य शिक्षक माननीय सम्बोधन गरिनेमा दरिए ।

श्रीमान् आयुक्त भएर सरकारी गाडीमा सवार हुँदै काठमाडौंको एसीवाल कोठामा बसेर कार्यान्वयन नहुने फायलमा हस्ताक्षर ढस्काउन थाले । उता श्रीमती तराईमा घरबार सम्हाल्न थालिन् ।

ooo

जाडोको मौसम थियो । माननीय आयुक्तले घरवालीलाई एकाबिहानै फोन गरे, “के छ डार्लिङ, तराईमा जाडो कत्तिको छ ?”

श्रीमती जाडोले उत्थु थुथुथु गर्दै भनिन्, “हुस्सुले घामै लाग्दैन । यता जाडोको त कुरै नगरम् । झन् हजुर नहोइसेपछि…। ल, छाड्नोस् यताका कुरा । उता काठमाडौंमा त झन् कति जाडो होला है ?”

आयुक्त महोदय बिग्रिएको रेडियोझैं हाँस्दै भने, “खै मलाई त यहाँ जाडोको क्यै अनुभूति नै भा छैन भन्या ।”

उता, लाउड भ्वाइसमा भइरहेको कुराकानी सुनिरहेको घरको काम गर्ने नोकर भुन्भुनाउँदै थियो, “एसीवाल गाडीमा हुइक्याँ छ, एसीवाल कोठामा बस्या छ । जाडोको अनुभूति कसरी होस् त मुर्दारलाई । हामीले झैंँ बिहान बिहानै जुठ्यान भाँडा, लुगा धुनु परेको भए पो ।”

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.