“ईश्वरले ती कलिला बालबालिकाको खप्परमा गोली दाग्न किन लेखे होला ?”
“अघिल्लो जुनीको कमाइ ।”
“उसो भए ती सबै आफ्नै प्रारब्धले मरे ?”
“अवश्य ।”
“तपाईंको स्कूल गएको बच्चा पनि ईश्वरको विधानअनुसार बनाइएको प्रारब्धले मरेको हो त ?”
“हो त भन्नुपऱ्यो, हामीलाई पनि पुत्रशोक लेखेको रहेछ ।”
“त्यसो हो भने गोली हान्नेले पनि आफ्नो प्रारब्धअनुसार वा ईश्वरको विधानअनुसार गोली हान्यो ?”
“……………,” उनी केही बोलेनन् ।
“यदि सबै कुरा ईश्वरकै व्यवस्थाअनुरूप भएको हो भने यो गोली हान्ने व्यक्तिको दोष कहाँ छ ? सरकारको दोष कहाँ छ ? तपाईं जुलुसमा कसको विरोध गर्न आउनुभएको हो ?”
“सरकारको ।”
“कुन सरकारको ? नेपाल सरकारको वा ईश्वरको सरकारको ?”
“नेपाल सरकारको ।”
“ईश्वरले लेखेको संविधान अनुसार तपाईंको बच्चा मऱ्यो भने ईश्वरको विरोधमा जुलुस निकाल्नुहोस् ।”
“बाबुआमाको प्राणजस्ता – ईश्वरले नै दिएका त्यस्ता कलिला बच्चाहरू ईश्वरले नै मार्थ्यो होला र ?”
“बचाउन त सक्थ्यो होला नि ?”
“खै ? बचाएन त ।”
“हो त्यही भएर नित्सेले उहिल्यै भने, – त्यसले केही गर्दैन, ईश्वर मरिसक्यो ।”

