पुसको चिसो महिनामा पनि जिप्रका कास्कीको आँगन घामले न्यानो थियो । भीड झन् तातो भएको थियो । युवायुवतीहरू हातमा फाइल, आँखामा विदेशको सपना बोकेर पासपोर्टको लाइनमा उभिएका थिए ।
आशा भने गुनासो मै थिई ।
“यहाँ बन्दैन रे, काठमाडौँ जानुपर्छ । नागरिकताको ०६ नम्बर नै सिस्टममा देखिएन ।”
प्रजिअले सोधे,
“नानी, कुन देश जाने हो ?”
“माल्टा,” आशाले छोटो जवाफ दिई ।
“श्रीमान् ?”
“पासपोर्टको निवेदन पूरा गर्न विदेशतिर छन् । गएको पनि दुई वर्ष हुन लाग्यो,” उसले कुरा टुंग्याई ।
एकल महिला देखेर होला, प्रजिअले सहयोगमा ढिलाइ गरेनन् । फाराम हस्तान्तरण गरिदिए । आशाको मन केही ढुक्क भयो । अब नागरिकताको नम्बर मात्र जाँच्न बाँकी थियो ।
भाइले पठाएको तीस हजार रुपैयाँको ब्याग हातमै थियो । उसले दश हजार झिकेर फेरि ब्यागमै हालेकी थिई ।
भीडमा उसले कर्मचारीलाई बिन्ती गरी,
“दाइ, नागरिकताको नम्बर एकचोटि हेर्दिनुस् न ।”
“नागरिकता ल्याउनुहोस्, चेक गरिदिन्छु,” कर्मचारीले भने ।
नागरिकता हातमा थमाइन् ।
केही बेरपछि कर्मचारीले टाउको हल्लाए,
“यहाँ भेटिएन । यसका लागि काठमाडौँ नै जानुपर्छ ।”
“कति खर्च लाग्छ ?”
“दश हजारमा एकै दिनमा बनाइदिन्छु ।”
आशा जिल्ला प्रशासनको आँगनमै घुमिरहेकी थिई—आशा र अन्योलबीच ।
त्यतिबेला बुढो टुप्लुक्क आइपुग्यो ।
“के भयो नागरिकता ?”
“यहाँ बन्दैन रे, काठमाडौँ जानुपर्छ । दश हजार लाग्छ रे ,” आशाले भनिन् ।
काठमाडौँ जाने नाममै आशा मख्ख थिई ।
तर बुढोको अनुहार मलिन भयो,
“थुक्क दिएको नम्बर नै नपुग्ने कस्तो कर्म हो !”
दुवै बाहिर निस्किए ।
आशाले सीडिओलाई बुढो विदेश गएको भन्दै ढाँटेकी थिई । सही त भयो, तर नम्बर भेटिएन—काम अधुरै रह्यो ।
त्यत्तिकैमा डोको बोकेकी सुन्तला बेच्ने आइमाई आइन्,
“दिदी, सुन्तला खानुहोस्, मीठो रसिलो छ ।”
“नकिन्ने,” बुढोले टार्यो ।
आशाले भने,
“एक किलो जोखिदिनुस् न ।”
महिलाले सुन्तला जोखिरहँदा आशाले ब्याग छामिन्—
ब्याग थिएन ।
“दश हजारको ब्याग हरायो !”
बुढोको आवाज काँप्यो ।
“कस्तो दशा लागेको तिमीलाई !”
आशा भीड चिर्दै दौडिई—तर कसलाई समात्नु ? कसलाई दोष दिनु ?
भीडले चुपचाप उसको पैसा निलिसकेको थियो ।
निराश भएर फर्किँदा बुढो निन्याउरो मुख लगाएर उभिएको थियो ।
“भाइले पठाएको पैसा, अब के भन्ला ?”
उत्तर आशासँग थिएन ।
साँझको छायासँगै
दुवैको अनुहार अँध्यारो भयो,
र उनीहरू चुपचाप कोठातिर लागे—
दशाले थिचिएको जिन्दगी बोकेर ।

