साहित्यपोस्ट डट कम

लघुकथा – हराएको पैसा

लघुकथा – हराएको पैसा

पुसको चिसो महिनामा पनि जिप्रका कास्कीको आँगन घामले न्यानो थियो । भीड झन् तातो भएको थियो । युवायुवतीहरू हातमा फाइल, आँखामा विदेशको सपना बोकेर पासपोर्टको लाइनमा उभिएका थिए ।

आशा भने गुनासो मै थिई ।

“यहाँ बन्दैन रे, काठमाडौँ जानुपर्छ । नागरिकताको ०६ नम्बर नै सिस्टममा देखिएन ।”

प्रजिअले सोधे,

“नानी, कुन देश जाने हो ?”

“माल्टा,” आशाले छोटो जवाफ दिई ।

“श्रीमान् ?”

“पासपोर्टको निवेदन पूरा गर्न विदेशतिर छन् । गएको पनि दुई वर्ष हुन लाग्यो,” उसले कुरा टुंग्याई ।

एकल महिला देखेर होला, प्रजिअले सहयोगमा ढिलाइ गरेनन् । फाराम हस्तान्तरण गरिदिए । आशाको मन केही ढुक्क भयो । अब नागरिकताको नम्बर मात्र जाँच्न बाँकी थियो ।

भाइले पठाएको तीस हजार रुपैयाँको ब्याग हातमै थियो । उसले दश हजार झिकेर फेरि ब्यागमै हालेकी थिई ।

भीडमा उसले कर्मचारीलाई बिन्ती गरी,

“दाइ, नागरिकताको नम्बर एकचोटि हेर्दिनुस् न ।”

“नागरिकता ल्याउनुहोस्, चेक गरिदिन्छु,” कर्मचारीले भने ।

नागरिकता हातमा थमाइन् ।

केही बेरपछि कर्मचारीले टाउको हल्लाए,

“यहाँ भेटिएन । यसका लागि काठमाडौँ नै जानुपर्छ ।”

“कति खर्च लाग्छ ?”

“दश हजारमा एकै दिनमा बनाइदिन्छु ।”

आशा जिल्ला प्रशासनको आँगनमै घुमिरहेकी थिई—आशा र अन्योलबीच ।

त्यतिबेला बुढो टुप्लुक्क आइपुग्यो ।

“के भयो नागरिकता ?”

“यहाँ बन्दैन रे, काठमाडौँ जानुपर्छ । दश हजार लाग्छ रे ,” आशाले भनिन् ।

काठमाडौँ जाने नाममै आशा मख्ख थिई ।

तर बुढोको अनुहार मलिन भयो,

“थुक्क दिएको नम्बर नै नपुग्ने कस्तो कर्म हो !”

दुवै बाहिर निस्किए ।

आशाले सीडिओलाई बुढो विदेश गएको भन्दै ढाँटेकी थिई । सही त भयो, तर नम्बर भेटिएन—काम अधुरै रह्यो ।

त्यत्तिकैमा डोको बोकेकी सुन्तला बेच्ने आइमाई आइन्,

“दिदी, सुन्तला खानुहोस्, मीठो रसिलो छ ।”

“नकिन्ने,” बुढोले टार्‍यो ।

आशाले भने,

“एक किलो जोखिदिनुस् न ।”

महिलाले सुन्तला जोखिरहँदा आशाले ब्याग छामिन्—

ब्याग थिएन ।

“दश हजारको ब्याग हरायो !”

बुढोको आवाज काँप्यो ।

“कस्तो दशा लागेको तिमीलाई !”

आशा भीड चिर्दै दौडिई—तर कसलाई समात्नु ? कसलाई दोष दिनु ?

भीडले चुपचाप उसको पैसा निलिसकेको थियो ।

निराश भएर फर्किँदा बुढो निन्याउरो मुख लगाएर उभिएको थियो ।

“भाइले पठाएको पैसा, अब के भन्ला ?”

उत्तर आशासँग थिएन ।

साँझको छायासँगै

दुवैको अनुहार अँध्यारो भयो,

र उनीहरू चुपचाप कोठातिर लागे—

दशाले थिचिएको जिन्दगी बोकेर ।

ट्याग: कर्मयुग
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.