पोखरा जान भनी काठमाडौंबाट एउटा बस चढें म । बसका सिटहरू सफा र सुविधाजनक थिए । बसको भित्री भागमा वरिपरि झ्यालमाथि विश्वकप फूटबल खेल्ने देशहरूका झण्डा झुण्ड्याइएका थिए । मन मस्तिष्कमा एकछिन विश्वकप तरंग छायो ।
बसको बीचतिर प्यासेजपट्टिको सिटमा बसें ।
ठाउँ ठाउँमा यात्रु झर्ने र चढ्ने क्रम चलिरहेकै थियो ।
दमौली पुगेपछि पनि बस रोकियो । केही यात्रु झरे, केही चढे । एउटा आठ, दश वर्षको बालकलाई अघि लाउँदै एउटी महिला पनि बस चढिन् । बालकले मेरो ध्यान खिच्यो । उजेलो अनुहार, खाइलाग्दो ज्यान र पोटिला गाला थिए उसका । कपाल बाक्लो र फर्फराउँदो थियो । आँखामा ठीकठीकैको चश्मा र ज्यानमा सफा आकर्षक टिसर्ट, प्यान्ट उसलाई सुहाएको थियो ।
मतिर आएर त्यो बालकले झण्डातिर देखाउँदै भन्यो, "मम्मी, हेर्नु त मेरो फेवरेट !!"
मैले पनि त्यतै टाउको फर्काएँ । त्यहाँ अर्जेन्टिना र कोरियाका झण्डा सँगसँगै थिए ।
मैले सोचें-- उसले पक्कै अर्जेन्टिनाको झण्डालाई संकेत गरेको होला । अनि मैले उसको हात समातेर मायालु पाराले सोधें, "कुन हो बाबु तिम्रो फेवरेट ?"
उसले फूर्तिसाथ भन्यो, "कोरिया”
"किन कोरिया ?"
"मेरो बाबा त्यहीं काम गर्नुहुन्छ नि ।"
"बाबाले काम गर्दैमा समर्थन गर्न पर्छ त ?"
"गुनको बदला गुन गर्न परेन ?" भन्दै ऊ आफ्नी आमासँगै सबभन्दा पछिल्लो लहरको सिटमा गएर बस्यो ।
बस आरामदायी गतिमा गुडिरहेको थियो । यात्रु पनि शान्त र ढुक्क थिए ।
खैरेनीटार आइपुगेपछि बस फेरि रोकियो । झर्ने यात्रु सलबलाउन थाले ।
अघिको बालक पनि आफ्नो सिटबाट उठेर फेरी मतिर आयो । "लौ लिनुस् कोरियाको चकलेट' भन्दै एउटा चकलेट मलाई दियो ।
उसको निश्छल बोली व्यवहारले मलाई भावुक बनायो र च्याप्प समातेर उसको गलामा म्वाइ खाएँ । अनि ऊ झटपट मबाट फुत्केर गाला पुछ्न थाल्यो । अनि मैले आफ्नो गाला थाप्दै भनें, "खोइ त गुनको बदला गुन ?"
नाइनास्तीको भाव दर्शाउँदै ऊ दौडँदै गयो र आमासँगै बसबाट झर्यो । ऊ बसबाट झरेपछि पनि उसबाट मेरा आँखा पन्छिन मानेनन् । त्यसैले उठेर घाँटी तन्काउँदै बाहिर नजर लगाएँ ।
एकजना भलाद्मीले मुस्कुराउँदै आमाछोरालाई स्वागत गरे । बालकले यसो पाइला चाल्न खोज्दै थियो । भलाद्मीले उसलाई समातेर जुरुक्क उठाए र उसको गलामा म्वाइँ खाए ।
बालकले लाडे स्वरमा रिसाएजस्तो गरेर भन्यो, "ह्या, मलाई जल्ले नि मुँइ खाने, गाला फोहर गर्दिने, किन होला ?"
भलाद्मीले हाँस्दै भने, "तिमीसँग गुणै गुण छ नि भान्जा ।"

