“गुलाफको फूल दिँदै कसले भन्ला—ह्याप्पी भ्यालेनटाइन डे !”
मिलन माया–प्रेममै हराइरहन्थ्यो । कामभन्दा गफ, यथार्थभन्दा सपना प्रिय ।
म भन्थें, “भाइ, प्रेमले भात पकाउँदैन ।”
ऊ मुस्कुराउँथ्यो, मेरा प्रश्नहरू हावामा उडाइदिँदै ।
एक साँझ क्याफेमा भेट्यौँ । मिलनको अनुहार मलिन थियो ।
“सर, उसले मलाई छाडिदिई ।”
मैले सम्झाएँ, “जीवन आउँछ, जान्छ । साथ पनि स्थायी हुँदैन ।
ऊ मौन रह्यो ।
दिन बिते । मिलन फेरियो ।
मायाबाट बच्न चुरोट, मदिरा र डान्स बारतिर मोडियो ।
एक दिन उसले घटना सुनायो—डान्स बारमा भेटिएकी केटी, कोठा, कफी…
अनि अचानक, “चार्ज देऊ, म जान्छु ।”
मिलन प्रेमी बन्न नपाउँदै ग्राहक बनिसकेको थियो ।
गार्डले रोकेको ढोकाबाट शूल्क तिरेर बाहिर निस्कँदा उसले भन्यो,
“सर, हामी जस्ता अभागीलाई गुलाफको फूल दिँदै कसले भन्ला—ह्याप्पी भ्यालेनटाइन डे ?”
मैले चुपचाप सुनिरहेँ ।
मिलनको अनुहारमा आजका धेरै युवाको अनुहार देखेँ—
जहाँ प्रेम, बजार बनेको छ र गुलाफ मूल्यसूचीमा टाँसिएको छ ।

