बिरानो मुलुकको बसाइँ । १२ वर्ष भइसकेछ । २० वर्षमा घर छोडेको उमेर पनि ३२ वर्ष पुगेछ । बिहे गरेको पनि बाह्रै वर्ष भएछ । भरखर बिहे गरेको श्रीमतीलाई छाडेर मुगलान जानु पर्दा उसको मन ज्यादै खिन्न भएको थियो । श्रीमतीले गोडामा छाँद हालेर रोएको सन्तबहादुरले बिर्सेको छैन । घर छोड्नु उसको बाध्यता थियो । किनभने उसले पुरानो ऋण र बिहेको ऋणको साँवा ब्याज साहलाई बुझाउनु थियो । त्यही पनि १ वर्ष भित्रमा ।
श्रीमतीलाई छोडेर विदेश जान सन्तबहादुरलाई पटक्कै मन थिएन । केही महिना भित्रै पैसा कमाएर ऋण तिर्न सक्छु भन्ने आँटले ऊ विदेश पलायन भएको थियो । बर्मा गए पनि कर्म सँगै भने जस्तै उसले पैसा कमाउन सकेन । १ वर्षमा फर्किन्छु भनेको सन्तबहादुर १२ वर्षसम्म पनि फर्किन सकेन । उतै हरायो ।
यता श्रीमती सन्तबहादुर घर नफर्किएकाले पीर गरिरहेकी हुन्छिन् । माया प्रिती जोडिन नपाउँदै विदेश गएको श्रीमानको अत्तोपत्तो नहुँदा पीरले दुब्लाउँदै गएकी छिन् लालमति । घरका सदस्य पनि लालमतिको अवस्था देखेर खिन्न भएका छन् ।
उता सन्तबहादुर पनि दिनदिनै दुब्लाउँदै गएको छ । दुईचार पैसा कमाउँछ, हातमुख जोर्न नै पुग्दैन । साहुको ऋण त कसरी तिरोस् र बिचराले ! उपाय केही नभएपछि आफ्नै देश फर्किने निर्णय गर्छ सन्तबहादुर । अनि दुईचार जोर पुराना कपडा झोलामा राख्छ र आफ्नै देशतर्फ बढाउँछ पैताला ।
राती घर आइपुग्छ । आँगनीमा सधैँको जस्तो गरेर धीपधीप बत्ती बलिरहेको हुन्छ । उसलाई लाग्छ, बत्तिले अलिकति भए पनि प्रकाश दिइरहेछ । तर उसले त एक झिल्को उज्यालो पनि दिन नसकेको महसुस गर्छ । किनभने उसको साथमा एक रुपियाँ पनि हुँदैन । कल्पना गर्छ, अब त साहुले गाउँको घडेरी र बेँसीको खेत पनि आफ्नो बनाइसके होलान् !

