नयाँ शैक्षिक सत्रको पूर्वसन्ध्यामा एउटा कलेजको अभिमुखीकरण कार्यक्रम थियो कलेजकै हलमा । सफा सिलिङ्ग, भित्ता र लहरै मिलाएर राखिएका कुर्सीमा निर्धारित समय अगावै उल्लेख्य संख्यामा विद्यार्थी र तिनका अभिभावक उपस्थित थिए ।
भित्ताबाट प्रवाहित चिसो हावा र मादल, तबला र बाँसुरी धुनमिश्रित मधुरो सांगीतिक तालले माहोल शान्तिपूर्ण र आनन्दित थियो । व्यस्त शहरी सडकमा लामो र झन्झटिलो ट्राफिक अवस्था झेलेर हलभित्र छिरेकाहरूमा पनि क्षणभरमै पुनर्ताजगी छाएको देखिन्थ्यो ।
हलको बीचतिर एकजना पुरुष ढाड सीधा र आँखा बन्द गरेर एकनाश लामो स्वास लिँदै छोड्दै गरिरहेका थिए ।
एकछिनपछि उनी वरिपरिका सहभागीहरूको नजरमा परे । मान्छेहरूले उनलाई औँल्याउँदै खासखुस गरे । धेरैले उनीप्रति सम्मान र प्रेम दर्शाए । केहीले खिसी पनि गरे ।
करिब २० मिनेटपछि कलेजका प्रिन्सिपल र अन्य पदाधिकारीहरू हलभित्र छिरे । एउटा फरक तरंग छायो हलभरी । त्यो तरंगमा मान्छेहरूले कलेजको सुकीर्ति र छवि मिसिएको महसूस गरे । सबै सतर्क र शान्त भए ।
कलेजको नियम, शिक्षण विधि, अतिरिक्त क्रियाकलापहरूको तालिका, पुस्तकालय, प्रयोगशाला र अन्य आवश्यक कुराहरूको व्याख्या कलेजका सम्बन्धित पदाधिकारीहरूबाट भयो । सबैले ध्यानपूर्वक सुने, मनन गरे । कार्यक्रम सकिएपछि समथर भूभागमा बगेको नदीसरी सहभागीहरू हलबाट बाहिरिए । त्यतिबेला कसैले उनै ध्यानीलाई सोध्यो, “तपाईं त अघि ध्यानमग्न हुनुहुन्थ्यो, कुरो के हो ?”
प्रश्नकर्तातर्फ नहेरी, पाइला नरोकी उनले जवाफ दिए, “बाहिरी शान्तिलाई आत्मिक शान्तिमा बदल्ने प्रयास ।”

