घरमा चामलधरि रहेनछ ।
केही छिनको अलमलपछि भाउजू पार्वतीकै घरतिर लाग्नुभएछ ।
पार्वतीले मानाले चामल भर्दै भनिछन्- “पैँचो भन्छ्यौ । सधैँ पैँचो भन्छ्यौ । तिर्न कहिल्यै ल्याउँदिनौ ।”
अनि भाउजूले जाउलो पकाउनुभएछ ।
केटाकेटीले खाएछन् ।
भाउजू भोकै ढल्किनुभएछ ।
राति दश बजेर सत्चालिस मिनेट जाँदा रामशरण दाइ लर्खरिँदै घर आइपुग्नुभएछ ।
दाइले पहिले ढोकामा ढकढक पार्नुभएछ ।
ढोका नखुलेपछि भन्नुभएछ- “खोई, द्वार खुलेन त काम्रेड ?”
दाइ भाउजूको जनवादी बिहे । पार्टीले गराइदिएको ।
सधैँ मातेपछि दाइ भाउजूलाई ‘काम्रेड’ भन्नुहुन्थ्यो ।
भाउजूले ढोका खोल्नुभएछ ।
हातमा आग्लो । त्यसैले बजाउनुभएछ दाइको पुर्पुरोमा ।
दाइ ढुन्मुनाउँदै फर्केछन् ।
बिहान हामी सबै रमाइलो हेर्न जम्मा भएका थियौँ ।
छक्काल बितेपछि दाइ दह्रो खुट्टामा फर्किनुभो ।
भन्दै हुनुहुन्थ्यो- “द्वन्द्वात्मक भौतिकवादमा यस्तो भइरहन्छ । संसार यसरी नै अगाडि बढ्छ । हिजो राति वाद भयो; प्रतिवाद पनि भयो । अब संवाद हुन्छ ।”
बिरेले काननेर मुख ल्याएर खुसुक्क भन्यो- “द्वन्द्वात्मक भौतिकवाद । ख्याल राखेस् । पछि तँ, हामी, सबैलाई काम लाग्छ ।”

