“ए सम्पदा ! किन सधैँ त्यो खाली कोठामा थुम्किएर बस्छ्यौ ? हेर त सन्ध्यालाई, तिमीहरू सँगै बिहे भएर आएका हौ, ऊ कति गाउँघर डुल्छे, हाँस्छे, बोल्छे । तिमीलाई चाहिँ के भएको ?”
आँगनबाट सासू आमाले ठूलो स्वरमा कराएको सम्पदाको कानमा ठोक्कियो । तर, सासू आमा कहिल्यै कोठाको ढोका खोलेर भित्र पस्नुभएन, न त कहिल्यै नजिकै आएर सुम्सुम्याउँदै सोध्नुभयो— “नानी, तिमीलाई केही दुःख छ कि ?”
सम्पदाको मन अमिलो भएर आयो । बि.एड. भर्ना भएको एक हप्तामै उनको बिहे भयो । माइतीमा छँदा उनले सोचेकी थिइन्— “पढाइ पूरा गरेर मात्र बिहे गर्छु ।” तर समयको चक्र अर्कै घुम्यो । नयाँ घरमा उनलाई कसैले “तिमी पढ” भनेनन्, न त बाहिर कलेज पठाउने चासो नै देखाए । घरको वातावरण र सासूको व्यवहार उनले चाहेजस्तो परेन ।
तर सम्पदा हार मान्ने खालकी थिइनन् । उनले एउटा अठोट गरिन्— “कसैले नपढाए पनि म आफैँ पढ्छु ।”
घरको सारा काम सकेर जब सबैजना आराम गर्थे वा कुरा काट्न चौतारीतिर लाग्थे, सम्पदा आफ्नो कोठामा छिर्थिन् । उनीसँग आफ्ना पुराना किताब थिए । अझै पुग्दैनथ्यो, त्यसैले उनले छिमेकी दिदीसँग मागेर ल्याएका पुराना नोटकापीहरू सिरानीमुनि लुकाएर राखेकी थिइन् ।
सासूले “कोठामा मात्र बस्छे” भन्दै शंका नगरुन् भनेर उनले एउटा उपाय निकालिन् । उनी घाँस काट्न जाँदा डोकोको पीँधमा किताब लुकाएर लैजान्थिन् । जब वनको एकान्तमा पुग्थिन्, घाँसको सट्टा अक्षरहरूमा हराउँथिन् ।
उनको पढ्ने शैली पनि अनौठो थियो । उनले स-साना कागजका टुक्राहरूमा मुख्य बुँदाहरू टिपेकी हुन्थिन् । घाँसको भारी बोकेर फर्कंदा उनी ती पानाहरू हातमा लिन्थिन् । अप्ठ्यारो र भिरालो बाटोमा उनी आफूले पढेका कुराहरू मनभित्रै मनन गर्थिन् भने सजिलो र तेर्सो बाटो आउनेबित्तिकै नयाँ बुँदाहरू पढ्थिन् । यही सङ्घर्षको बलमा उनले कसैले थाहा नपाई बि.एड. उत्तीर्ण गरिन् ।
पढाइ त पूरा गरिन्, सन्तान पनि बढे तर पढेर के भाे र ? सबैले जागिर खाए, पढेर मात्रै हुन्छ र ? प्रश्नले उनकाे मन फेरि बिथोल्न थाल्यो । यत्तिकैमा गाउँमा प्रौढ शिक्षाको चर्चा चल्न थाल्यो । सम्पदाले त्यहीँबाट आफ्नो बाटो खोलिन् । गाउँ का बुढी आमाहरूलाई आफ्नो नाममा रमाउन र लेख्न सिकाएर प्रौढ शिक्षामा पढाउँदा-पढाउँदै उनले स्थानीय विद्यालयमा निजी शिक्षकको रूपमा प्रवेश पाइन् ।
शिक्षण पेशा, घरको जिम्मेवारी र दुई सन्तानको हेरचाह— सम्पदाको काँधमा जिम्मेवारीको भारी त थपियो तर उनले हिम्मत हारिनन् । उनले निजीबाट करार हुँदै शिक्षकसेवा लडेर स्थायी शिक्षकको रूपमा नाम निकालिन् । त्यति मात्र होइन, त्यही संघर्षको बिचमा उनले एम.एड. समेत पूरा गरिन् ।
आजको दृश्य हिजोको भन्दा बिल्कुलै फरक छ । बिहान सबेरै उठेर आफ्ना छोराछोरीलाई तयार पारेर स्कुल पठाएपछि, सम्पदा आफैँ पनि शिक्षकको पोशाकमा सजिएर विद्यालयतिर लाग्छिन् । उनकाे मुहारमा खुसी, उमङ्ग थियाे । पुलुक्क गाेठतिर हेर्छिन्, लाग्छ डाेकाेले एकनास हेरिरहेकाे, नाम्लाेले बाेलाइरहेकाे तर तिनकाे जिम्मेवारी अन्तै माेडिएकाे थियाे ।

