दिदीलाई मैले धेरै सताएको रहेछु । सम्झिँदा पनि मन त्यसै खल्लो हुन्छ । दिदी ठूली छोरी र पहिलो सन्तान भएकीले जिम्मेवारीको बोझ त बोकेकै थिई । त्यसैले ऊ जिम्मेवारी बुझ्ने स्वभावकी थिई र छोरीमान्छेमा हुने सुशीलता पनि उनमा थियो ।
दिदीपछि जन्मेको मैले धेरै माया पाएँ । जिम्मेवारी मसँग खासै थिएन । हुँदा पनि म खेल्न र उफ्रिनमै व्यस्त हुन्थेँ । म कुरा गर्दैछु विद्यार्थी जीवनको । दिदीलाई निकै दिक्क लगाउँथेँ । दिदीका अधिकारका वस्तु त के, माया पनि मैले परिवारबाट कति तानेँ, तानेँ ।
एक दिनको कुरा हो । दिदी स्कुल जान तयार हुन लाग्दै थिई । म भने पहिल्यै तयार भइसकेको थिएँ । दिदीले हिजो नै फरकको खल्तीमा दुई रुपियाँ पैसा राखेको देखेको थिएँ । दिदीले फरक लगाउनु अघि नै ती दुई रुपियाँ मेरो खल्तीमा राख्न मन लाग्यो । दिदी कोठा पुग्नुअघि नै दिदीको फरकबाट पैसा निकालेर आफ्नै खल्तीमा हालेँ ।
दिदी तयार हुन लागी । म परबाट छड्के आँखाले हेरिरहेको थिएँ, कतै दिदीले थाहा पाएर उखरमाउलो त गर्दिन नि ! नभन्दै दिदीले खल्तीबाट पैसा हराएको थाहा पाई । दिदीको खल्तीबाट पैसा लाने मबाहेक अरू कोही छैन भन्ने उसलाई थाहा थियो । दिदी सिधै झम्टेर आई-
“मेरो पैसा दे, किन लगिस् ? म मम्मीलाई भन्दिन्छु !”
म पनि कमजोर कहाँ थिएँ र ! निर्धक्क भएर भनेँ-
“मैले लगेको छैन, कता राख्छेस् अनि मलाई चोर लगाउँछेस् !”
दिदीका प्रश्न नसकिँदै मैले डब्बल कुरा चर्को आवाजमा फर्काइदिएँ । कोठाभित्रको कोलाहलले घर नै उचाल्ने जस्तो भयो ।
ड्याडी घरमुन्तिर गोरु जोत्दै हुनुहुन्थ्यो । घाममा गोरु जोत्दा पसिनाले लथपथ भएका बाबालाई हाम्रो कोलाहलले एक्कासी रिस उठ्यो । गोरु कुट्ने सिरकिनु बोकेर कोठातिर हाकिनुभयो । मैले बाबालाई कोठातिर आउँदै गरेको देखिहालेँ । बिरालोको फुर्तीजस्तै म झ्यालबाट फुत्त अर्को कोठातिर लागेँ र चम्पट कसेँ ।
ड्याडीको रिसको सामना दिदीले गर्नुपर्यो । बिचरी मेरी दिदी ! सम्झिँदा पनि अहिले माया लागेर आउँछ । स्याट् कि स्याट् सिरकिनुको वर्षा हुन थाल्यो, साथमा ड्याडीको गाली । म भाग्दै गरेकाले पनि दिदीले कुटाइ खाएको आवाज मेरो कानमा पुग्यो । बिचरी मेरी दिदी ! मेरो कारणले ड्याडीको कुटाइ खाई ।
स्कुल पुगेर मैले दुईटा आइसक्रीम किनेँ । दिदीलाई एउटा दिएँ । खान मानिन ।
“आफैँ खा । मैले कुटाइ खाएर अघाइसकेँ !” भनी ।
म बदमास भाइ, “नखा, नखा” भन्दै आफैँ खाएँ ।
अहिले मेरो कारणले दिदीले कुटाइ खाएको सम्झिँदा दिदीको माया लागेर आउँछ ।
दिदी आइ एम् सरी !

