आज पनि धुस्कुन जम्मा पारेर बालेछ- हरिलालले । धुस्कुन : सुकेका झारपात, काठका टुक्रा, कागज र प्लास्टिक ।
धुस्कुन यदाकदा बाल्ने होला भन्ठानेर छरछिमेकले छुच्चो मुख गरेनन् । तर हरेक दिन हरिलालको घरबाट धुवाँ पुत्पुताउन थालेपछि छरछिमेकमा उकुसमुकुस सल्कियो । तर छुच्चो मुख कसले गर्ने !
रमेशले आँट गर्यो । भन्यो, “हरिलाल दाइ, यसरी धुस्कुन नबाल्नोस् । यसको धुवाँले मानव स्वास्थ्यलाई असर गर्छ ।”
हरिलाल जङ्गियो । भन्यो, “मेरो घरमा मैले आगो बाल्दा कसैको टाउको दुख्छ भने दुखिरहोस् ।”
रमेशले हाँसेर भन्यो, “घर तपाईंको । धुस्कुन पनि तपाईंले जम्मा पार्नु भएको । सलाईको काँटी पनि तपाईंकै । यति ठीक छ । तपाईंले बालेको धुस्कुनबाट निस्किने विषाक्त धुवाँ वायुमण्डलमा मिसिन्छ । हामी सबै त्यही वायुमण्डलमा श्वास फेर्छौं । त्यो वायुमण्डल त हामी सबैको हो नि । तपाईंले त्यो साझा वायुमण्डललाई विषाक्त बनाउन मिल्छ ?”
हरिलाल बोलेन ।
त्यस दिनदेखि हरिलालले धुस्कुन पनि जम्मा पारेन ।
हरिलाल जहिले जहिले बाइक चढेर शहरतिर जान्छ; बस ट्रकको कालो धुवाँले सडकमा कुहिरिमण्डल पारेपिच्छे ऊ रमेशका कुरा सम्झिन्छ ।

