साहित्यपोस्ट डट कम

लघुकथा : धनगढीको बस

लघुकथा : धनगढीको बस

धनगढीबाट काठमाडौँतर्फ जाने रात्रीबस यात्रुले खचाखच भरिएको थियो । चैतको साँझ, आकाशमा बादल मडारिएका थियो । बसको झ्यालबाट बाहिर हेर्दै माइली चुपचाप बसिरहेकी थिई । अनुहारमा थकान र पीडाको छाया थियो ।

छेउमा बसेकी गीता दिदीले बिस्तारै सोधिन्,

“दिदी, काठमाडौँ के कामले जानु भएको ?”

माइली केही बेर चुप लागेर भनिन्,

“छोरीलाई दुई जना पापीले बलात्कार गरेछन्… न्याय खोज्न जाँदैछु ।”

गीता नि:शब्द भइन् ।

बसको पछाडि अर्को युवक आक्रोशित स्वरमा भन्दै थियो,

“दलालले अमेरिका लैजान्छु भनेर पैसा खायो, भागेछ । काठमाडौँ पुगेर मेनपावरमा खोज्छु ।”

छेउमै सानो च्यातिएको झोला बोकेको केटो थियो । गणेशले सोध्यो,

“कहाँ जाँदैछौ भाइ ?”

“मेनपावरले बोलाएको छ दाइ, भोलि इन्टरभ्यु छ रे… पैसा पनि छैन, तर भाग्य खोज्न हिँडेको ।”

गणेशले उसको काँधमा हात राख्दै भन्यो,

“दलालसँग जोगिनु भाइ, जमाना ठीक छैन । समस्या परे भन्नू ।”

अगाडिको सिटमा दुईजना यात्रु राजनीति बहसमा थिए ।

“झोलेहरूले देश सक्न लागे,” एक जनाले ठूलो स्वरमा भन्यो ।

अर्कोले प्रतिवाद गर्‍यो, “नयाँ शक्ति पनि केही गर्ने होला नि !”

बसभित्र कसैको पीडा, कसैको सपना, कसैको आक्रोश मिसिएको थियो ।

त्यत्तिकै बेला बसको स्पिकरबाट गीत बज्न थाल्यो—

“यात्रा रहेछ जिन्दगी, एक्लै हिँड्नुपर्ने…”

बस आफ्नै रफ्तारमा अँध्यारो रात चिर्दै अघि बढिरह्यो । कर्णालीको पुल काटेको कसैले थाहा पाएन ।

शायद सबै आफ्नै चिन्तामा हराएका थिए ।

किनकि त्यो बसमा चढेका सबै यात्रुहरू एउटै गन्तव्यतिर जाँदै थिए—

कोही न्याय खोज्दै, कोही भविष्य खोज्दै, कोही आशा खोज्दै । एक बसमा अनेक समस्याका लाम लस्करै काठमाडौँतिर कुदिरहेका थिए ।

ट्याग: कर्मयुग
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.