साहित्यपोस्ट डट कम

लघुकथा : चक्र

लघुकथा : चक्र

“तिमी फेरि किन फर्किएर आयौ ?”, बूढो वरको रूखले रोकिएर ठिङ्ग उभिएको एउटा अदृश्य वायुलाई प्रश्न गर्‍यो ।

​हावाको झोक्काले सुसाउँदै उत्तर दियो, “म त कहिल्यै गएकै थिइनँ, बाजे ! म त केवल रूप फेरेर अर्कै दिशातिर बग्दै थिएँ ।”

त्यसबखत ​वसन्तको आगमनसँगै वरका पालुवाहरूमा नयाँ चमक थियो । चराचुरुङ्गीहरू नयाँ गुँड लगाउन व्यस्त थिए । धर्तीको हरेक कणमा एउटा अज्ञात छटपटी र उत्साह मिसिएको थियो । वरले आफ्ना लामा जटा सुम्सुम्याउँदै भन्यो, “मानिसहरू भुइँमा रङ्गीचङ्गी रेखा कोर्दै छन्, पात्रो पल्टाउँदै छन् । उनीहरूलाई लाग्छ, आजबाट केही नयाँ शुरु हुँदैछ ।”

वायु अट्टहास हाँस्यो, “हो, उनीहरू सूर्य मेष राशिमा पसेको उत्सव मनाउँदै छन् । कसैले यसलाई बैसाखी भन्छन्, कसैले सङ्क्रान त कसैले ल्होसार । तर उनीहरूलाई थाहा छैन, यो त केवल एउटा अनन्त: यात्राको एउटा सानो बिन्दु मात्र हो ।”

“तर बाजे, के साँच्चै समय फेरिन्छ त ?”, एउटा भर्खरै पलाएको मुनाले कलिलो स्वरमा सोध्यो ।

​वरका हाँगाहरू अलि बढी झुके । वातावरणमा एउटा गम्भीर शान्ति छायो । वरले आफ्नो अनुभवको भारी बिसाउँदै जीवनको शाश्वत सत्य बोल्यो ।

​”परिवर्तन समयको स्वभाव हो, तर रूपान्तरण चेतनाको सङ्कल्प हो ।”

मुना अलमलियो र सोध्यो, “त्यसो भए यो नयाँ वर्ष के हो त ?”

​हावाले सुस्तरी उसको कानमा फुसफुसायो, “यो त केवल तिम्रो पुरानो बोक्रा फाल्ने एउटा बहाना मात्र हो ।”

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.