शारीरिक यौवनले हृष्टपुष्ट भएकी उसलाई सबैले बिन्दिया भनेर बोलाउँथे । सबैकी बिन्दिया थिई । एक गरिब परिवारमा जन्मिएकी गाउँका सबै युवाहरूले बिन्दिया भनेपछि नचिन्ने कोही हुँदैनथ्यो । उसको सुन्दरताका कारण सबैजनाको नजर बिन्दियामा परेको थियो ।
ऊ यौवनले भरिपूर्ण थिई । उसलाई देख्नेबित्तिकै सबैजना आकर्षित हुन्थे । सबैजनासँग हाँसेर बोल्ने गर्थी । आर्थिक सङ्कट र गरिबीले गर्दा माध्यमिकसम्म मात्रै उसको पढाइ सीमित रह्यो । कलेज पढ्ने उसको चाहना अधुरो थियो । गाउँघरमै घाँस–दाउरा काटेर जीविकोपार्जन गर्न विवश बनेकी थिई ।
विवाह गरेर पराई घर जाने सपना पनि उसको अधुरो थियो । घरमा बुबाआमालाई हेर्ने उसको कर्तव्य थियो । सँगैका साथीहरू चिटिक्क परेर हिँड्ने गर्थे । सिँगारपटारमा सजिएर हिँड्ने गर्थे । तर विडम्बना, ऊसँग सिँगारका सामानहरू थिएनन् । सिँगारपटार नगरे पनि अरू युवतीभन्दा राम्री देखिन्थी । राम्रो खानु–लाउनु रहर त सबैलाई हुन्छ । तर पनि मेलापात गएर आएको पैसाले हातमुख जोर्न पनि साह्रो परेको थियो ।
गाउँघरका युवतीहरू फिल्म हेर्न जान्थे । ऊ पनि लुकीछिपी साथीहरूको सङ्गतमा लागेर फिल्म हेर्न जान्थी । साथीहरूको सङ्गतले उसलाई उत्ताउली बनाइसकेको थियो । अरूले लगाएर हिँडेको फेसनवाला कपडाले उसलाई मोहित बनाउने गर्थ्यो । आफ्नो शरीर हेर्दै ऐना हेरेर लजाउँथी । उसलाई पनि बैँसालु यौवनले छोएको भान हुन्थ्यो ।
यस्तैमा एक दिन घरबाट पर जङ्गलमा घाँस काट्न गएकी थिई । प्राकृतिक दृश्यहरू अनि उसको बैँसालु मन, उसको गुनगुन आवाजले जङ्गल सङ्गीतमय भएको थियो । अचानक ! गाउँका जमिनदार साहेबको छोरो रमेश पनि काठमाडौंबाट त्यही बाटो भएर फर्किरहेको थियो ।
यो सुनसान जङ्गलमा सुन्दरी बिन्दियालाई देख्दा कसको मन मोहित नहोला र ! ऊ चुपचापसँग बिन्दियातिर बढ्न थाल्यो । एकछिन थकाइ मार्ने बहानामा ऊसँग जिस्किन थाल्यो । बिन्दियाले सोधी, “काठमाडौंमा बसाइ कस्तो भयो नि...?”
रमेशले भन्यो, “राम्रो भयो नि ! अनि यसरी जङ्गलमा घाँस काट्न आउनु तिमीलाई डर लाग्दैन...?” जिस्काउँदै रमेश बोल्यो ।
“मलाई खानुको लागि ठूलो आँट पनि हुनुपर्छ नि !” नशालु ओठ चलाउँदै बिन्दिया बोली ।
“ठूला–ठूला मान्छेहरू कहिले आउँछन्, कहिले थाहा हुँदैन । हामीलाई होइन ! बिन्दिया, म विन्टरको छुट्टीमा आफ्नो गाउँ आएको नि, तर तिमीलाई त म सधैँ सम्झिरहन्थेँ नि !” उसको नजिकै गएर रमेश बोल्यो ।
“हैन, मुखले किन चेपारो पारेको होला नि ?” बिन्दिया नशालु बन्दै गई । फेरि बोली, “अनि सम्झिएको भए हुन्थ्यो, अनि खोइ मलाई मायाको चिनो ?”
बच्चादेखि उनीसँगै जन्मे–हुर्केकी, तर विवशताले रमेशसँग छुटिनुपर्यो । आर्थिक अवस्था कमजोर भएका कारण बिन्दियाले पढ्न सकिन । अनि रमेशले भन्यो, “मैले तिमीलाई मायाको चिनो ल्याइदिएको छु । तिमी आँखा बन्द गर न त !”
आँखा बन्द गरी बिन्दियाले । तब रमेशले अँगालोमा बाँधेर गालामा चुम्मा खान्छ । “छ्या, यो रमेश ! कसैले देखेको भए...!” रातोपिरो भएर बिन्दिया बोल्छे ।
“माया त साटासाट गर्नु पाइन्छ नि, म तिमीलाई हृदयबाट माया गर्छु,” रमेशले भन्छ ।
तब बिन्दिया नशालु ओठ चलाउँदै बोल्छे, “माया पनि यसरी गर्ने त...!”
“अनि कसरी गर्ने नि !” अँगालोमा बेर्दै रमेश बोल्छ ।
“कुन्नि त, मलाई के थाहा ? शहर बस्नेलाई पो थाहा हुन्छ,” बिन्दिया बोल्छे ।
अनि दुईजनामा मायाको होडबाजी नै चल्छ । रमेश फेरि उसलाई अँगालोमा बाँधेर छातीमा टसाउँछ ।
केही क्षणपछि रमेशले के सोचेर हो कुन्नि ! गोजीबाट एक हजार रुपैयाँको नोट निकालेर बिन्दियाको हातमा दिन्छ र आफ्नो हात बिन्दियाको हातबाट छुट्याएर आफ्नो बाटो लाग्छ ।
दिनहरू बित्दै जान्छन् । उसको घाँस–दाउरा, मेलापात गर्दै दिन बित्छ । उसलाई याद आउँछ । रमेशले माया गरेको याद आँखामा झलझली आउँछ । मनमनै कल्पना गरी सधैँभरि यस्तै हुन पाए भन्दै मस्किन्छे ।
अचानक ! बिन्दियाको बानीबेहोरामा पनि परिवर्तन हुन्छ । एक कान, दुई कान हुँदै गाउँका युवाहरूले यो कुरा चाल पाउँछन् । युवाहरू उसका राम्राभन्दा धेरै नराम्रा कुराहरू गर्न थाल्छन् । एकाएक गाउँघरमा हेलाको पात्र बन्छे । यादै भएन, एउटा सानो भूलले आज उसको जीवन बेहाल भएको छ । कर्कलाको पानीजस्तै जीवन चलिरहेको छ ।

