अस्पतालको बेडमा छ— रत्नलाल । दमले चापेपछि अस्ति राति एम्बुलेन्समा आएको । कुरूवा बसेको छ— छोरो ।
मितछोरी भेट्न आई । भनी— “दमको बिरामीको कुनै ठेगानै नहुने । छिमेकमा मितबाभन्दा उमेरमा कान्छा हेर्दाहेर्दै फुस्सै गए । मितबालाई फेरि देख्न पाउँछु कि पाउँदिनँ भनेर हतारिँदै आएकी ।”
चन्द्रकान्त आयो । भन्यो— “छोराछोरी सबैको काम सकिहालिस्; अब त …”
सोमप्रसाद आयो । भन्यो— “सबैको एउटै बाटो । तेरो त उमेर पनि …”
श्रीलाल आयो । भन्यो- “सबैको पखेटा लगाइहालिस् । अरु त अरु, नातिनातिना पनि एक लगनी गरेर खान सक्ने भइहाले त…”
सबै गएपछि रत्नलालको भृकुटी खुम्चियो ।
सोच्यो— “अस्पतालमा आफन्तहरू स्वास्थ्य लाभको कामना गर्न आउँछन् कि अत्याउन/बिदाबारी गर्न आउँछन् ?”
रत्नलालले छोरालाई नजिकै डाक्यो र कानमा भन्यो— “बाबु, भेट्न आउने मान्छेलाई चियासिया ख्वाएर कुनै किसिमले बाहिरबाटै बिदा गरे है ।”

