साहित्यपोस्ट डट कम

लघुकथा: भार्या

लघुकथा: भार्या

गाउँमा सात कक्षा पढ्दै गरेकी सोवितासँग सितारामको बिहे भयो । फूपुको रेखदेखमा हुर्केबढेका उनले श्रीमतीलाई साथमै लग्नुपर्ने बाध्यता थियो । लगे । घरधन्दा सबै आफैँले सम्हाले । प्रमाणपत्र तहको अध्ययन सकिनासाथ जागिरे भएका सितारामले श्रीमतीलाई स्नातकोत्तर गराए । सोविताले पनि क्याम्पसमा पढाउने अवसर पाइन् । उनीहरूका सुखका दिन क्रमश: शुरु भए ।

“दुईजनाको कमाइ ! यौटाको खाए नि यौटाको बचतले घर बनाउनुपर्छ । भन्ट्याङभुन्टुङ पनि त चाहियो । सोविसँग आजै प्रस्ताव राख्छु ।” मिठामिठा सपना कोरल्दै सितारामले साँझको खाना तयार पारे ।

आठ बज्यो । सोविता आइपुगिनन् । केहीबेर बाटो हेरे । दश बज्यो तर सोविताको आगमन भएन । सितारामको प्रेमालिङ्गन मनस्थिति एकाएक शिथिल हुँदै गयो । उनी भुटभुटिए । “भएन, खोज्न जान पर्यो” भन्दै क्याम्पसतिर हान्निए । गेटमा दुईजना चौकिदार बाहेक अरू कोही थिएन । दायाँ बायाँका होटेल, पसलहरू बन्द भइसकेका थिए । सडक सुनसान थियो ।

“क्याम्पसभित्र कुनै कार्यक्रम भइरा’छ र दाइ ?” हतारिँदै पुगेका सितारामले मोटरसाइकल रोकेर चौकिदारसँग सोधे ।

“यतिबेला ?” गेटभित्रबाटै चौकिदारले प्रतिप्रश्न गरे ।

“सोविता म्याम अहिलेसम्म घर पुग्नुभएको छैन । त्यै भएर !”

“ए ! उहाँको कुरा ? बिहे नसक्काइ के फर्कनुहुन्थ्यो त नि !”

“बिहे रे !” अनभिज्ञ सितारामले कौतुहलता प्रकट गरे ।

“तपाईं ह्वाँको को हो र ?” चौकिदारले परिचय मागे ।

“निम्तो आएको नि था’भएन । कहाँ, कस्को र’छ ?”

निःशङ्क सिताराम उभिएकै स्थानमा घोरिएको देखेपछि चौकिदारले भने–

“मन्कौनाँ ह्याँकै लिट्रेचर सर र उहाँको रेन्त !”

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.