साहित्यपोस्ट डट कम

लघुकथा: बाँझो बिहान

लघुकथा: बाँझो बिहान

बिहानीको पाखा । डाँडाको टुप्पोमा अड्किएको घाम बिस्तारै उज्यालो बगाउँदै तल झर्दै थियो । चिसो सिरेटो हावासँगै माटोको सोंधो गन्ध उड्दै आइरहेको थियो—तर त्यो गन्धमा पहिलेको जस्तो गाउँको चहलपहल, त्यो जीवित स्पन्दन कहीँ हराउँदै गएको अनुभूति हुन्थ्यो ।

घरको आँगनमै, कुले (घरका बाबु) बारी खन्ने काँटामा निहुरिएका थिए ।

हातमा समाएको बीँडलाई उनी ढुङ्गामा ठोक्दै, धार मिलाउँदै थिए—टक्… टक्… टक्…

त्यो आवाज शान्त बिहानीलाई चिर्दै टाढासम्म फैलिन्थ्यो ।

हेर्दा लाग्थ्यो—

बीँडको चोट ढुङ्गामा मात्र होइन,

बिस्तारै चिप्लिँदै गएको समयको कठोर सतहमै परिरहेको छ ।

आँगनको एक छेउमा पुरानो हलो ढल्किएको थियो—धुलोले ढाकिएको, जसलाई कसैले छोएको वर्षौँ भइसकेजस्तो ।

भित्रबाट मैतीमाया फटफटाउँदै निस्किइन्, हातमा बिरुवाको टोकरी, अनुहारमा चिन्ता र थकानको छायाँ ।

“हाउ बाबु, छिटो गर्नुपर्छ ! घाम नछिप्पिँदै आज यी बिरुवा रोपिहाल्नुपर्छ ।

खै जन छैन आज…एकदिनको लागि मात्र कोही आइदिए, समयमा नै काम सकिन्थ्यो, वर्षभरिलाई ढुक्कै हुन्थ्यो ।

लाठे छोराहरू परदेशमा, खेताला पाल्न गाह्रो… परमेहरू नाचगानमै मस्त !”

उनी एकैछिन रोकिइन्, आँगन वरिपरि हेर्दै बिस्तारै थपिन्—

“पहिला त यही आँगनमा हाँस्दै-गाउँदै परमा हिँड्थ्यौं… अहिले त आवाज पनि हरायो ।”

कुलेले काँटा उठाउँदै, अलि थाकेको स्वरमा भने—

“खै मेरो दुई हात, तेरो दुई…म खन्दै जान्छु, तँ रोप्दै जा ।

एकै जना भए पनि पाइए त आज सकिन्थ्यो… तर काम गर्ने हातहरू पाउनु नै गाह्रो भयो ।”

काँटाको चोट फेरि बज्यो—टक्…

माटो फुट्यो, तर समय अझ कडा भयो ।

त्यसैबेला, आँगनको बाटो हुँदै एक जना भद्र, सहरी अनुहारको जवान देखा पर्छ ।

“कुले काका !”

कुलेले टाउको उठाए, घामतिर एकचोटि हेरे—

“छिटो भन बाबु, घाम चढ्दैछ ।”

जवान नजिक आयो, सिधा उभिएर भन्यो—

“मेरो नाम प्रकाश कुमार क्षेत्री । म समाजसेवक हुँ ।

आजकाल कृषि क्षेत्रमा आएको ह्रासबारे जनचेतना फैलाउँदैछु…”

ऊ बोलिरह्यो—

“हाम्रो कृषि उत्पादन बढ्यो भने हामी बाहिरका वस्तुमा निर्भर हुनुपर्दैन ।

आर्थिक उन्नति हुन्छ, शुद्ध खान पनि पाइन्छ ।

हामीले आफ्नो बारी बाँझो नराखी, आफैँ कृषि क्षेत्रमा लाग्नुपर्छ… मेहनत गर्नुपर्छ…”

शब्दहरू राम्रा थिए—सत्य जस्तै ।

तर त्यतिबेला, घाम झन् माथि चढ्दै थियो ।

पछाडिबाट मैतीमायाको आवाज फेरि आयो—

“हाउ, अब अलिकति मात्रै समय छ ! ढिलो भयो भने बिरुवा सुक्छ ।

एकजना खेताला भए पनि कति सजिलो हुन्थ्यो…”

उनले टोकरी भुइँमा राख्दै, कुलेलाई हतार गरिन्—

“ल, जाऔँ… जाऔँ !”

कुलेले काँटा एकपटक जोडले ढुङ्गामा ठोक्यो—टक् !

त्यो आवाज यसपटक गहिरो थियो ।

उसले प्रकाशतिर फर्केर भन्यो—

“हजुरको कुरा ठिक हो…

तर अहिले—हामीलाई शब्द होइन, हात चाहिएको छ ।

हामी त बारीतिर लाग्यौं…

तपाईं कता ?”

आँगन एकाएक मौन भयो ।

प्रकाश केहीबेर उभिइरह्यो ।

उसले आफ्ना सफा जुत्ता हेर्‍यो—माटोको एक थोपा पनि लागेको थिएन ।

अनि कुलेका च्यातिएका चप्पलतिर नजर गयो—जहाँ माटो मात्र लागेको थियो ।

बिहानीको घाम तीनै जनामाथि बराबरीसँग परिरहेको थियो ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.