आइतराम कहाँबाट आयो कहाँ गयो कसैलाई थाहा छैन । म आफैँलाई पनि थाहा छैन । यति मात्र थाहा छ कि ऊ माथि लेकबाट झरेको । झर्नुको अर्थ बसाइँसराइ ।
उसले किन आफ्नो थातथलो छोड्यो, उसलाई मात्र थाहा होला । शायद– उसलाई जीवन चलाउन मुस्किल भयो । गाँस, बास, कपासको खोजीमा यहाँ आएको थियो ।
जंगलको छेउमा सानो कटेरो । तीन जनाको परिवार यही कटेरोभित्र । खाने, बस्ने, पकाउने यावत चिज । खुसी, आनन्द, दुःख, पीडा पनि कटेरो भित्र नै । भन्नुपर्दा जीवनको सबै कुरा अटाउने एउटा कटेरो । अनि जीवनै त्यही कटेरो । यसरी आइतरामको जीवन र कटेरो एक आपसमा जोडिएका । कटेरो भन्नासाथ आइतराम र आइतराम भन्नासाथ कटेरो ।
आइतरामलाई परिवार धान्न निकै कठिन । दिनभरि काम गर्यो हातलाग्ये शून्य जस्तै । त्यही पनि सधैँ ज्याला मजदुरी नपाइने । काम नपाएको दिन र बिरामी भएको दिनमा कटेरोमा चुलो नबल्ने । जे जस्तो भए पनि पाखुरा बजारेर सास फेरेको थियो आइतरामको परिवारले ।
अहिले त्यो परिवार म देख्दिनँ । सोध्यो, कसैलाई थाहा छैन । जब म त्यहाँ पुग्छु, त्यो स्याउले कटेरो पनि देख्दिनँ र त्यो परिवार पनि । कस्तो अचम्म ! मानिस कहाँबाट आउँछ कहाँ जान्छ कसैलाई थाहा नहुने ।
साँच्चै यो संसार विचित्रको छ । मान्छेले मान्छेलाई नचिन्ने । मानवीय संवेदना, भावना र करुणा नआउने । त्यति लामो अवधिसम्म बसेको मान्छेका बारेमा कसैले केही जान्नै चाहेन । बुझ्नै चाहेन । यो हुनुको कारण आइतराम गरिब हुनु हो । बसाइँ सरेर आउनु हो । अनि जंगलको छेउमा एउटा सानो छाप्रो बनाउनु हो ।
सबैले बलेकै आगो त ताप्ने हो । त्यसैले केही नहुने आइतरामका बारेमा कसले पो जान्न चाहन्नथे र ! त्यसैले यो संसारमा गरिब भएको हुनाले नै मृतकलाई जुम्राले छोडेजस्तो गरी उसलाई सबैले छोडेका छन् । त्यसैले आइतराम आफूलाई कसैले पनि नरुचाएको ठान्दछ । अब यो ठाउँ छोड्न मनलाग्छ उसलाई । किनभने ऊ यसरी धेरै ठाउँ छोडी यहाँ आइपुगेको हो ।
एउटा बुढाबाले मेरो प्रश्नको अलिकति उत्तर दिन्छन्– माघे संक्रान्तिको सखारैको कठ्याङ्ग्रिने जाडोमा श्रीमती र छोरालाई अघि लगाएर कतै गइरहेको थियो । साथमा एउटा सानो झोलामा केही लत्ताकपडा थिए होलान् । त्यो झोला हलुको भए पनि उसको मन गह्रुङ्गोजस्तो लाग्दथ्यो । कहाँ जान लागेको भनेर सोध्दा मधेस मात्र भन्यो । अरु केही कुरा थपेन उसले । बोल्नै सकेन । घोप्टो मुण्टो लगाएर हिँडिरह्यो । हिँडिरह्यो । न उसले मतिर हेर्यो, न त अरु कुनै बोली मिसायो । त्यसपछि अहिलेसम्म फर्केर आएको छैन । मान्छेको जिन्दगी खै के जिन्दगी ! कहाँको जन्म, कहाँको कर्म र कहाँको मृत्यु बाबु !
मलाई ती बुढा बाको कुरा सुन्दा नरमाइलो लाग्छ । अहिले आइतराम कहाँ गयो होला ! कतै सडक किनारमा यसरी नै छाप्रो बनाएर सडकमै मजदुरी गरेर जीवन चलाएर बसेको होला ! अथवा मुग्लान पसेको होला ! अथवा श्रीमती एकातिर, छोरो एकातिर र आइतराम कतै एकान्तमा अतीतलाई सम्झेर एक्लो जीवन बिताइरहेको पनि हुन सक्छ ! अथवा उसको मृत्यु भएर सबैको बेहाल भएको पनि हुन सक्छ । त्यसैले आइतरामको लामो कथाको एकछेउ पनि उतार्न सकिनँ । यसरी एउटा सिङ्गो कथाको अवसान भएको छ ।

