साहित्यपोस्ट डट कम

लघुकथा: अस्तित्व

लघुकथा: अस्तित्व

एक विशेष समारोहमा नेताजीको भव्य स्वागत भयो । एक सय आठ केजीको मालाले उनको घाँटी भरियो । नेताजी दङ्ग परे ।

मालाले घमण्ड गर्दै फूललाई भन्यो,

“हेर, मेरो तागत यस्तो छ कि म सधैँ ठुलाबडाको गलामा झुन्डिन्छु । मलाई पहिरिएपछि मान्छे झन् ठूलो देखिन्छ ।”

फूल मुस्कुरायो,

“तिमी मेरो अस्तित्वमा बाँचेको कुरा बिर्सियौ ! म नभए तिमी के हुन्थ्यौ ?”

माला झन् फुरफुरियो,

“अब फूलमात्रै माला हुने जमाना छैन । दुबो, रुद्राक्ष, पत्थर—सबैको बजार छ । त्यसैले माला भन्नासाथ पहिले मेरो नाम आउँछ ।”

फूल शान्त स्वरमा बोल्यो,

“त्यो त हाम्रो बलिदानको मूल्य हो ।” तिम्रो निर्माणमा हाम्रो बलिदान गौरवपूर्ण छ ।

नेताजी भाषण गर्दै थिए । जनताले उच्च पदमा पुगेर केही नगरेको आरोप लगाउँदै विरोध गर्न थाले । होहल्लामै तानातान भयो । नेताजीलाई लछारपछार गर्न थाले । उनले लगाएको माला चुँडियो ।

फूलहरू तितरबितर भए । माला रहेन ।

फूल भुइँमा छरपस्ट भए । हुलमुलमा सबैका पैताला तिनै फूलमाथि परे ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.