गाउँमा प्लस–टु खुल्नु र मैले एसएलसी पास गर्नु सँगै भयो ।
दिउँसो स्कुल हुने ठाउँमा बिहान हाम्रो क्याम्पस अर्थात् प्लस टु ।
अर्थशास्त्रका सर पुँजी, उत्पादन, बजार, लगानीका कुरा गर्थे । स्मिथ, मार्क्सका नामले मेरो टाउको भारी हुन्थ्यो । मेरो एउटै लक्ष्य थियो—विदेश जाने, पैसा कमाउने ।
पढाइमा मन गएन । पासपोर्ट, भिसा, टिकट मेरा असली शब्द बने । विदेश पुगेँ, काम गरेँ, बजारमा घर बनाएँ । भुइँतला भाडामा दिएर उपल्लो तलामा बस्ने योजना दश वर्षमा पुरा गरेँ ।
कोठा भाडाको सूचना टाँगेको केही दिनमै एक मान्छे आयो—झुस्स दाह्री, तालु खुइलिएको, काँधमा बच्चा । पछिपछि सादा लुगा लगाएकी महिला । अनुहार चिनेजस्तो लाग्यो । नजिक आएपछि चिनेँ—उहाँ मेरा अर्थशास्त्रका सर ।
“कोठा खाली छ ?” उहाँले सोध्नुभयो ।
मैले भुइँतलातिर हेरेँ । लगानी, प्रतिफल, बजार—सबै शब्द त्यहीँ उभिएका थिए ।
“छ सर” मैले भनेँ, “तर भाडा अलिक महँगो छ ।”

