“यसरी त भएन नि मुखियाजी ! अब सुध्रनुपर्यो । समयअनुसार चल्नुपर्यो ।” राउटे बस्तीमा पुगेको अभियानकर्मीको नाइकेले भन्यो ।
“नाइ, हामीलाई यस्तै ठिक छ । हाम्रो बाउबाजेले यस्तै गर्यो । हामी पनि यस्तै गर्छौं !” मुखियाले जवाफ फर्काए ।
“हामी तपाईंहरूलाई घर बनाइदिन्छौँ । घरमा बस्ने । छोराछोरी पढाउने । रोग विरुद्धको खोप लगाउने । खेतीपाती गर्ने, वस्तु पाल्ने गर्नुपर्यो ।” नाइकेले सम्झाउने प्रयास गर्यो ।
“हुन्न, हुन्न हाम्रो देउता रिसाउँछ । हामी त जङ्गलको राजा हो, डुलीडुली हिँड्ने ।” असहमति प्रकट गरे मुखियाले ।
“हाम्रो संविधानले नै सबै जातजातिको भाषा, धर्म, संस्कृति संरक्षणको अधिकार दिएको छ । उनीहरूको पनि आफ्नै परम्परा, संस्कृति छ । तिनलाई त्यसमै रमाउन दिनुपर्छ । सभ्यताको नाममा भाषा, संस्कृति, पहिचान लोप गरिदिनु त भएन नि ।” बातचित सुनिरहेको स्थानीय युवाले आफ्नो मत प्रकट गर्यो ।
“अहिलेको आधुनिक युगमा पनि त्यस्तो भनेर कहाँ हुन्छ भाइ ?” अभियानकर्मीले आँखा तर्दै अलि कडा मिजास देखायो ।
“तपाईंहरूको जस्तो टोली पटक पटक आएर उनीहरूको स्वतन्त्रतामा खलल पार्नु भएको छ । उनीहरूको मानव अधिकारको हनन भएको छ । यो राम्रो भएन ।” युवा पनि के कम थियो र ! जोस्सियो ।
“हाम्रो त्यस्तो मनसाय हैन नि भाइ ! राउटे समाजको उत्थानको लागि पो गर्न खोजेको हो ।” अलि नरम भयो अभियानकर्मी ।
“उनीहरूको भाषा, संस्कृति, परम्परामा दख्खल नपुर्याइ संरक्षण गर्न सकियो भने अध्ययन, अवलोकन गर्न पर्यटक पनि भित्रन्छन् । राज्यलाई पनि लाभ हुन्छ ।”
“तपाईंहरूलाई मन परेन भनेर उनीहरूको पहिचान मेटाइदिन खोज्नु त अपराध हो नि । कि मैले गलत बोलेँ ?” युवाले दृढता दर्शायो ।

