पम्फा पर्याप्त खुशी थिइन् ।घरभित्र पस्दासम्म उनको अनुहारमा प्रशस्त चमक थियो । खाना बाहिरै खाएर आएकी थिइन् । साथीहरूसँग लिएको ह्विस्कीले अझै छोडिसकेको थिएन । त्यसैले पनि आज उनलाई विशेष आनन्द प्राप्त भएको थियो । बिहानबिहानै उनले पतिबाट मोटै रकम हात पारेकी थिइन् । टोलभरिका मिल्ने साथीहरूलाई क्याफेमा पार्टी दिन पाउँदा उनको इज्जतको कद पनि बढेको थियो ।
घरभित्र पसेपछि भने उनको अनुहारबाट खुशी अचानक बेपत्ता भयो । घरभरि उनका नन्द-आमाज्यूहरू नाचगान गर्दै थिए । उनले पति हरिकृष्णलाई खाउँला जस्तो गरेर कडा नजरले हेरिन् । पति लुगलुग काम्दै बोल्यो, "धेरै भएको थियो चेलिबेटीलाई नसम्झेको । त्यसैले आज डाकेको हुँ । दिदीबहिनीहरू खुशीले नाच्दैछन् । "
पम्फा रिसले आगो भएकी थिइन् तैपनि केही नबोली सरासरी माथिल्लो तलामा पुगिन् । अब के अनर्थ हुने हो भनेर पति हरिकृष्ण पनि पछिपछि माथि पुग्यो ।
उनले पछाडिपछाडि आउँदै गरेको पतिलाई आँखा तर्दै हप्काइन्," आर्थिक मन्दीको बेलामा के गरेको यस्तो ? "


