साहित्यपोस्ट डट कम

लघुकथा: आमा न्याय देऊ

लघुकथा: आमा न्याय देऊ

आमा, दाइलाई भनिदेऊ:

यो जङ्गलको बीचमा पतिङ्गरको शैयामा मृत्यु कुरिरहेकी छु । तर मेरो मनमा अझै एउटा सानो आशा बाँकी छ न्यायको आशा, शान्तीको आशा । आमा, दाइलाई भनिदेऊ, मृत्युकाे अन्तिम साससम्म पनि न्यायको प्रतीक्षा गरिरहेकी छु । यो देशका छोरीहरूले डरको सायामा होइन, सम्मानको उज्यालोमा बाँच्न पाउनुपर्छ । यदि राज्य साँच्चै जनताको हो भने, त्यसले सबैभन्दा पहिला कमजोर र पीडितको पक्षमा उभिनुपर्छ । यो देश जलेर खरानी हुँदा त तिमीले समेटेर अगाडी बढ्याै । परिवर्तनको खोजी गर्याै ।

आमा,

आज देश अस्तव्यस्त भएको जस्तो लाग्छ । कानुनका बाक्ला किताबहरू छन् तर पीडितका आँसु अझै सुक्न सकेका छैनन् । अदालतका ढोकाहरू खुलेका छन् तर न्यायको बाटो धेरैका लागि अझै टाढा देखिन्छ । अपराधका कथाहरू गाउँदेखि शहरसम्म फैलिएका छन् तर न्यायको कथा निकै कम सुनिन्छ । यही कारणले आज म तिमीलाई आग्रह गरिरहेकी छु । दाइलाई सम्झाइदिनू, सत्ता केवल अधिकारको नाम होइन । सत्ता भनेको जिम्मेवारी हो, उत्तरदायित्व हो र पीडितको आवाज सुन्ने साहस हो । यदि दाइ प्रधानमन्त्री बन्नेछन् भने उनले सम्झिनुपर्छ । यो देशमा छोरीहरूको सुरक्षाभन्दा ठूलो विषय अरू केही छैन । लुटिएको अस्मिताको घाउ केवल एउटा परिवारको होइन, राष्ट्रकै सम्मानसँग जोडिएको कुरा हो । त्यसैले आमा, दाइलाई भनिदेऊ, यो देशका छोरीहरूको सम्मान र सुरक्षाका लागि दृढ भएर उभिनू । अन्याय गर्नेहरूलाई कानुनको कठघरामा ल्याउनू र न्यायलाई केवल कागजमा होइन, व्यवहारमा पनि जीवित बनाउनू ।

आमा,

शायद मेरो जीवनको बाटो अब धेरै लामो छैन । सासहरू क्रमशः कमजोर हुँदैछन् र समय बिस्तारै हातबाट फुस्किरहेको जस्तो लाग्छ । तर मेरो अन्तिम चाहना भने स्पष्ट छ । भोलि म यो संसारमा रहनेछैन तर मेरो आवाज हराउनु हुँदैन । दाइलाई भनिदेऊ- “म मृत्यु शैय्याबाट पनि न्याय मागिरहेकी छु ।” मेरो लागि मात्र होइन, यो देशका सबै छोरीहरूको भविष्यका लागि । उनीहरू डराएर होइन, गर्वका साथ बाँच्न पाउनुपर्छ । उनीहरूको सम्मान सुरक्षित हुनुपर्छ, उनीहरूको जीवन मूल्यवान् मानिनुपर्छ । आमा, यदि दाइ साँच्चै प्रधानमन्त्री बन्दैछन् भने, उनले सबैभन्दा पहिला पीडितको आँसु देख्नुपर्छ र अन्यायविरुद्ध अडिग भएर उभिनुपर्छ । आमा यत्ति खबरदारी गरिदिनु कि अब कोही छोरी निर्मला पन्त, भागरथी, इनिशा नबनुन् किनभने जब छोरी सुरक्षित हुन्छे तब मात्र देशको भविष्य सुरक्षित हुन्छ । यही मेरो अन्तिम आशा हो, यही मेरो अन्तिम आवाज हो- “न्यायको आवाज ।”

ऐया ! आमा मलाई धेरै दुखेको छ, पोलेको छ, मेरो घाउ चर्याएको छ आमा सास फुस्किन लाग्यो । आमा, आमा मलाई न्याय दिलाइदेऊ है !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.