आज दोस्रो दिन । अन्नको एक दाना पेटमा गएको छैन । ६ वर्षकी छोरी र ३ वर्षको छोरोले हिजो उब्रिएको बासी भात खाएका थिए । त्यसपछि २४ घण्टा बित्दा पनि केही खान पाएका छैनन् । छोरीले आमाको दुःख बुझे पनि केही भन्दिन, छोरो भने सानै छ । ऊ खानाका लागि जिद्दी गर्दै, रुँदै थाकेर निदाएको छ ।
दिलमायाका श्रीमान् हुँदा उसको सब्जी-तरकारीको राम्रै व्यापार थियो । तर दैवलाई उसको खुशी मञ्जुर थिएन क्यारे । कोरोनाले श्रीमानलाई लगिदियो । उसको आधा प्राण पतिसँगै गए पनि बाँचेकै थिइन् । ठेलागाडा व्यापारले हात-मुख जोर्न पुर्याएकै थियो । दैवले त्यो पनि खोसिलियो । एक दिन नगर-प्रहरीले उसको ठेलागाडा जफत गरिलियो । दिलमायाले धेरै गुहारिन्, हात-खुट्टा समातिन्, बलिन्द्र धारा बगाउँदै आफ्ना कलिला सन्तानहरूको कसम दिइन् । केही सीप लागेन ।
आज ऊ सन्तानलाई एक गाँस अन्नका दाना दिन नसक्ने भइन् । योभन्दा ठूलो दुःख एउटी आमालाई अरू के हुन सक्छ र ! अब एउटाबाहेक अरू केही उपाय छैन । उसले गाउँकी साथी फूलमायालाई सम्झिइन् र दृढ अठोटका साथ उभिइन् । पुरानो बाकसबाट सबैभन्दा राम्रो कुर्ता-सलवार झिकेर ल्याइन् । ओठमा लिपिस्टिक दल्दा एकपल्ट उसका हात कामे तर उनी रोकिइनन् । श्रीमानलाई सम्झिइन् र झस्किइन् तर छोरो लर्याक-लुरुक भएर पल्टिराखेको देख्दा मुटु दह्रो पारिन् ।
“म खाना लिन जान्छु । भाइलाई राम्रोसँग हेर्नू”, भन्दै उनी निस्किइन् ।
बाहिर झमक्क साँझ परिसकेको रहेछ । उनी रत्नपार्क पुगिन् र भीडभाडभन्दा अलिक पर गएर उभिइन् । एक छिनपछि एउटा मोटरबाइक उनी नजिकै आएर रोकियो र बाइकरले “जाने हो ?” भनेर सोध्यो । दिलमायाको मुटु ढुकढुक भयो । के भन्ने भन्ने उसको मगजमा आएन र ऊ हिँड्न थालिन् ।
“अरे कति नखरा गरेको”, बाइकरले पनि बाइक बिस्तारै गुडाउँदै भन्यो, “हिँड न ! एक हजार दिन्छु । मात्र एक घण्टा ।” दिलमायाको अगाडि श्रीमानको अनुहार आयो, उनी हिचकिचाइन् । फेरि छोराछोरीलाई सम्झिन् । भोकले लर्याकलुरुक भएर भुइँमा पल्टेको छोरोलाई देखिन् । अनि केही नभनेर बिस्तारै गएर बाइकको पछाडिको सिटमा बसिन् ।

