(साँझ ढल्कँदै छ । श्रावणकाे महिना, दिनभर खेतबारीमा काम गरेर थाकेका श्रीमान–श्रीमती छेवैको फलैंचामा सँगै बसेका छन् । हातमा अझै माटो लागेकै छ । अनुहारमा पसिनाको चमक छ । खेतका आलीबाट पानी “छङ–छङ” गर्दै बगिरहेको छ । टाढा चराहरूको आवाज, अस्ताउँदै गरेको घाम । केही क्षणकाे मौनता — समय बगिरहेको अनुभूति ।)
उत्तरा: ( हल्का थकान सहित टाढा पानी बगिरहेकोतिर हेर्दै, अलिकति समय पुगेन, मेलाे बाँकी नै रह्याे भन्ने कुराकाे पिर भए जस्ताे अनुहारमा )
हेर्नु न… आजका केटाकेटीहरू समय धेरै छ भन्ठान्छन् कि कसाे हाे ?
(नरेन्द्र गहिराे सास फेर्दै माटो लागेको हात टकटक्याउँछन् । )
नरेन्द्र:
हामी पनि त उत्तरा……..
यस्तै भन्थ्यौँ नि ।
भोलि गरौंला भनेर,
आज गुमायौँ ।
(केही सेकेन्ड मौनता । पानीको आवाज स्पष्ट सुनिन्छ ।)
उत्तरा:
समय त बोल्दैन…
तर हिसाबचाहिँ
एक–एक मिनेटको राख्छ जस्तो लाग्छ ।
(उनी आकाशतिर हेर्छिन् । घाम अझ रातो हुँदै गएको छ ।)
नरेन्द्र: (गम्भीर स्वरमा)
ठीकै भन्यौ ।
खेत समयमै जोतिएन भने,
बाली रोएर आउँदैन त ।
(दुबै बगिरहेको पानीतिर हेर्छन् ।)
हेर… समयले कसैलाई पर्खदैन ।
( घाम डुब्नै लाग्याे । पानी निरन्तर बगिरहेकाे छ । प्राकृतिक ध्वनि मात्र सुनिन्छ । )

