साहित्यपोस्ट डट कम

लघु नाट्य-संवाद : समय

लघु नाट्य-संवाद : समय

(साँझ ढल्कँदै छ । श्रावणकाे महिना, दिनभर खेतबारीमा काम गरेर थाकेका श्रीमान–श्रीमती छेवैको फलैंचामा सँगै बसेका छन् । हातमा अझै माटो लागेकै छ । अनुहारमा पसिनाको चमक छ । खेतका आलीबाट पानी “छङ–छङ” गर्दै बगिरहेको छ । टाढा चराहरूको आवाज, अस्ताउँदै गरेको घाम । केही क्षणकाे मौनता — समय बगिरहेको अनुभूति ।)

उत्तरा: ( हल्का थकान सहित टाढा पानी बगिरहेकोतिर हेर्दै, अलिकति समय पुगेन, मेलाे बाँकी नै रह्याे भन्ने कुराकाे पिर भए जस्ताे अनुहारमा )

हेर्नु न… आजका केटाकेटीहरू समय धेरै छ भन्ठान्छन् कि कसाे हाे ?

(नरेन्द्र गहिराे सास फेर्दै माटो लागेको हात टकटक्याउँछन् । )

नरेन्द्र:

हामी पनि त उत्तरा……..

यस्तै भन्थ्यौँ नि ।

भोलि गरौंला भनेर,

आज गुमायौँ ।

(केही सेकेन्ड मौनता । पानीको आवाज स्पष्ट सुनिन्छ ।)

उत्तरा:

समय त बोल्दैन…

तर हिसाबचाहिँ

एक–एक मिनेटको राख्छ जस्तो लाग्छ ।

(उनी आकाशतिर हेर्छिन् । घाम अझ रातो हुँदै गएको छ ।)

नरेन्द्र: (गम्भीर स्वरमा)

ठीकै भन्यौ ।

खेत समयमै जोतिएन भने,

बाली रोएर आउँदैन त ।

(दुबै बगिरहेको पानीतिर हेर्छन् ।)

हेर… समयले कसैलाई पर्खदैन ।

( घाम डुब्नै लाग्याे । पानी निरन्तर बगिरहेकाे छ । प्राकृतिक ध्वनि मात्र सुनिन्छ । )

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.